संघीय संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेका छन्।
असोज १८ गते पीडित भनिएकी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो।
प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महरालाई स्वास्थ्यमा समस्यादेखिएपछि केही दिनदेखि नर्भिक अस्पतालमा छन्।
उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले बलात्कारको आरोप लगाएकी थिइन्।
महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो। आफूमाथिको आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए।
महरालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको म्याद शुक्रवार सम्पन्न भइसकेको छ । हिजो शनिवार अदालत बन्द हुने भएकाले आज कि म्याद थपका लागि अदालत पेश गर्नुपर्ने हुन्छ, कि त अभियोग पत्र दर्ता गर्नुपर्ने हुन्छ ।