
धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड
गगनचुम्बी भवनहरूले खचाखच भरिएको आधुनिक महानगर हो– क्वालालम्पुर। समुन्द्रदेखि पहाडसम्म गजबको संयोजन छ।
सांस्कृतिक शहरको उत्तरपट्टी एउटा पहाडको थुम्को छ। हरियाली चुनढुङ्गाको खोच। पहाडमुनि फराकिलो मैदान छ। भित्रपट्टी विशाल गुफा। जहाँ अनेकौँ देवताले बास गरेका छन्। गोम्बक रम्न र मन्दिर–देवताको दर्शन गर्न दिनदिनै आउँछन्, हजारौं मानिस।
पलपलमा बदलिरहने मलेसियाकाे माैसम। चारैतिर गजबकाे भीडभाड, अनेकथरि पर्यटक। उज्यालो इन्द्रेणी रंगकाे सिँढी। मन्दिर छेउछाउका भिक्षु। डुलिहिँड्दै फोटो खिचिरहेका युवा–युवती। सुतेका, उभिएका वा रमाइरहेका बाँदर। भुँइदेखि क्षितिजसम्म उडिरहेका परेवा। अनि उक्लिँदै जाँदा भर्याङकाे छेउतिर देखिएकाे एउटा मूर्ति। भगवान् राम नियाल्दै भित्रिन्छन्– पर्यटक। र, कुनापट्टी डरलाग्दाे रावण। भित्तामा काेरिएका देवतादेखि हात्तीसम्म। याे दृश्य हिँड्दै जाँदा देखिन्छ।
‘बातु’ गोम्बक जिल्लाको चुनढुङ्गा पहाडमा टासिएको छ। थुम्काेमुनि गुफाभित्र छन्, सुन्दर हिन्दू मन्दिर। जो क्वालालम्पुर आउँछ, ऊ ‘बातु गुफा’ पुग्छ नै। यो पर्यटकहरूका लागि सबैभन्दा आकर्षण केन्द्र हो।
धार्मिक र सांस्कृतिक हिसाबले संसारभरका लाखौं मानिस जम्मा हुन्छन्, यहाँ। ढुङ्गे गुफा हेर्न आउने जो–कोही पनि वरपरको सुन्दरता देखेर वास्तवमै हराउँछन्। चारैतिर डुल्छन्, रमाउँछन्। अनि भित्रि संसार अवलोकन गर्छन्, फर्किन्छन्।
एउटा रोचक प्राकृतिक दृश्यलाई पूजा गर्ने आकर्षक स्थान मानिन्छ– ‘बातु’।
मलेसियाको पहाडी भेग धेरै सुन्दर रहेकाे छ। नेपाल–भारतबाहेक सबैभन्दा ठूलो र लोकप्रिय हिन्दू तीर्थस्थल गोम्बक भएको दक्षिण भारतीय मुलका स्थानीयहरू बताउँछन्। मन्दिर–चौर वरपर उनीरूको बाक्लो भीड देखिन्छ। दक्षिण भारतजस्तै लाग्छ। टाढा पुगेकाे अनुभूति नै हुँदैन।
गुफाभित्र हिन्दू देवताका मूर्ति छन्। खासमा रामायण कथाकाे झल्काे दिन्छ। तीर्थयात्रीहरू ‘बातु’को दर्शनका लागि यहाँ आउँछन्। मलेसियामा कार्यरत नेपाली, भारतीय, पाकिस्तानी र बर्मेलीहरू छुट्टी मनाउन आइतबारका दिन आइपुग्छन्, बातु।
लामो सिँढीले आगन्तुक तीर्थयात्रीलाई स्वगत गर्दै भित्र पठाउँछ। माथिपट्टी ढुङ्गै–ढुङ्गाको चट्टान र रमणीय हरियाली जंगल छ। ठाडो सिँढीमा हिँडिरहेका पर्यकटहरू फोटोग्राफीमा मस्त देखिन्छन्।
सिँढी जीवन्त रूपमा पेन्ट गरिएको छ। रंगी–बिरंगी छन्। गुफा ठूलो छ। भित्र वा बाहिर थुप्रै हिन्दू मन्दिर छन्। पर्खालमा पुराना भवनको अवशेषजस्तै देखिन्छ। उज्यालो तलैसम्म छरिएको छ। जहाँ पर्यटकहरू रमाइरहेका हुन्छन्। सिँढीबाट तल ओर्लिएपछि मैदान भेटिन्छ। अनि यहीँ रमाउँछन्, पर्यटक।
क्वालालम्पुर आएका जाे काेही पनि एकपटक ‘बातु’ दर्शन गर्न मरिहत्ते गर्छन्। दृश्य देखेर लाेभिन्छन्। एकैछिन भएपनि मलेसियाकाे थकान मेट्छन्। फाेटाे कैद गर्छन् र निस्किन्छन्।
१ .
२ .
३ .
४ .
५ .