इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

तस्बिरः ट्विटर

 बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।

उनले आफू ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन्। ‘अमेरिकी सेक्यूरिटी एण्ड एक्चेन्ज कमिसन’ मा रहेको फाइल अनुसार उनको राजीनामा फेब्रुअरीको अन्त्यपछि कार्यान्वयनमा आउनेछ।

उनले राजीनामाबारे प्रष्ट पार्दे लेखेका छन्, ‘मेरा लागि १३ वर्षको समय असाधारण रह्यो। म ट्वीटर कम्पनीसँग रहँदाको अवस्थामा कम्पनीले गरेको प्रगतिप्रति गर्व गर्न चाहन्छु साथै मैले अन्य काममा समय दिनु परेकोले यसबाट छुट्टिएको छु।’

उनी हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृतसमेत रहेका छन्। विलियम्सले सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेर भूमिका निर्वाह गरेका थिए।

विलियम्सले सन् २०११ मा ट्वीटर छोडेको भए पनि अहिलेसम्म कार्यसमितिका सदस्यका हैसियतमा थिए। सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरिसकेका छन्।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरू साथीहरुलाई धन्यवाद दिँदै ट्वीटर कम्पनीको सुन्दर भविष्यको कामना गरेका छन्।

प्रकाशित मिति: : 2019-02-25 09:46:51

प्रतिकृया दिनुहोस्