नागरिकता विवादमा अक्षय निरास, पहिलो पल्ट खोले मुख

 (एजेन्सी)– आफ्नो विदेशी नागरिकताको विषयले नकरात्मक चर्चा पाउन थालेपछि बलिउड स्टार अक्षय कुमार चिन्तित देखिएका छन्। र, उनले ट्वीटरमार्फत स्पष्टीकरण दिने प्रयत्न गरेका छन्।

अक्षयले सोशल मिडियामा जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘मेरो नागरिकताको विषयलाई लिएर जथाभावी र नकरात्मक चर्चा भइरहेको छ, मैले बुझन सकिरहेको छुइन्।

मैले आफ्नो नागरिकताको विषय कहिल्यै लुकाएको छैन, न अस्विकार नै गरेको छु। मसँग क्यानडाको राहदानी छ। तर यो पनि सत्य हो कि, विगत ७ वर्षदेखि म क्यानडा गएको छुइन्।

भारतमै बसेर काम गरिरहेको छु र आयकर पनि तिरिरहेको छु। अहिलेसम्म मलाई भारतप्रति मेरो आगाद्य स्नेहलाई लिएर कहिल्यै प्रमाण दिनु परेको थिएन। यतिबेला मेरो नागरिकताको मुद्धालाई लिएर जसरी मलाई बदनाम गर्न खोजिदैछ, यसबाट निराश छु।

यो विशुद्ध निजी, गैर–राजनीतिक र अरुको टाउको दुखाईको विषय होइन। भविष्यमा पनि म आफ्नो कामबाट योगदान दिनै रहेको हुनेछ।’ अक्षय कुमार पछिल्लो केही वर्षयता देखि सामाजिक कार्यमा सक्रिय छन्। उनी ‘वीर एप’ मार्फत भारतीय सेनाको परिवारको सहयोगमा जोडिएका छन्।

उनले समाजसँग जोडिएको मुद्धामा पनि अभिनय गरेका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिन्छन्।

उनले ‘ट्वाइलेट एक प्रेम कथा’ जस्तो फिल्ममा काम गरेर सरकारको स्वच्छ अभियानको उद्देश्यलाई समर्थन गरेका थिए।

उनले ‘पेडम्यान’ फिल्ममा महिनावारी महिलालाई पनि स्वच्छताको सन्देश दिन खोजेका थिए। भारतीय प्रधानमन्त्रीको महत्वकांक्षी परियोजनालाई समर्थन गरेको भन्दै पहिले देखि नै विरोधीहरूको आलोचनामा अक्षय थिए।

अहिले निर्वाचनको माहौलमा उनको विदेशी नागरिकतालाई लिएर सर्वाधिक ट्रोल भइरहेको छ।

केही समय अगाडि अक्षयले प्रधानमन्त्री मोदीसँग गैर–राजनीतिक अन्तर्वार्ता गरेका थिए।

अन्तर्वार्ताको क्रममा उनले गरेको प्रश्नलाई लिएर खुब मजाक उडाइएको थियो।

प्रकाशित मिति: : 2019-05-04 14:56:50

प्रतिकृया दिनुहोस्