काठमाडौंमा युवतीदेखि गाँजाका लागि बढ्दैछन् ग्याङफाइट

तस्बिरः बिएल

शुक्रबार साँझ लतितपुरको पुलचोकस्थित सुमेरू अस्पताल नजिकैको गल्लीमा ११/१२ जना युवा एक्कासी जम्मा भए।

केही समयको विवादपछि एकाएक युवाहरू एकले अर्कोलाई हिर्काउन थाले। झडप यति भयानक भयो कि एक युवकको ज्यान नै गयो। 

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका २० वर्षीय अन्सल शाक्यको मृत्यु भयो।गम्भीर घाइते भएका शाक्यलाई सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो।तर, सोही दिन करिब सातबजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

प्रहरीले घटनामा संलग्न ग्याङका सदस्यलाई नियन्त्रणमा लियो।

प्रहरी अनुसन्धानबाट केटीको विषयमा विवाद हुँदा ग्याङफाइट भएको पत्तो लाग्यो।‘हामीले घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले भने।

प्रहरी नियन्त्रणमा रहेका अधिकांश युवाको उमेर २० देखि ३० वर्ष छ। उमेर समूहका कारणले पनि युवाहरू आवेश र उत्तेजनाको कारण चाँडै विवाद र झडपमा उत्रिने गरेको एएसपी धानुकले बताए।

केही ग्याङफाइट मदिराको लतमा समेत हुने गरेको प्रहरीको विश्लेषण छ।

गाँजाको विवादमा ग्याङ फाइट

गत मंसिर ८ गते  शनिबार नयाँबानेश्वरको सुकुम्वासी टोलमा साथी-साथीबिच नै हानाहान सुरू हुनासाथ एकाएक भाग दौड मच्चियो।

दुई समूह बनाएर उनीहरू झडपमा उत्रिए। झडपमा एकजनाको मृत्यु भयो।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिक्री मगरको उपचारको क्रममा नयाँ बानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको थियो। अर्का एक २४ वर्षीय युवक अनिल श्रेष्ठ गम्भीर घाइते अवस्थामा उपचाररत छन्।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेका अनुसार गाँजाको बाँड्फाँड्को विषयमा विवाद हुँदा खुकुरी प्रहार भएर युवकको मृत्यु भएको हो।

यो घटनामा पनि एउटै उमेर समूहका धेरै युवाको संलग्नता देखिएको छ।

विद्यार्थी विद्यार्थी ग्याङ फाइट

गत जेठ १६ गते त्रीचन्द्र कलेजका विद्यार्थीबिच ग्याङफाइट भयो। कलेज पुगेका विद्यार्थीले आफ्नै साथीमाथि धारिलो खुकुरीसमेत बर्साए। 

तत्कालै घटनास्थलमा पुगेको प्रहरीले अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाललाई नियन्त्रण लियो।

कलेजका विद्यार्थी म्यागी गुरूङमाथि खुकुरी प्रहार भएको थियो। यो घटनामा पनि संलग्न अभियुक्तको उमेर २० देखि ३० वर्ष नै छ।

राजधानीमा हुने गरेका धेरै ग्याङफाइटको कारण प्रेम सम्बन्ध, कुलत, इगो र मदिराको कारणले नै हुने गरेको प्रहरी अधिकृतहरू बताउँछन्।

प्रकाशित मिति: : 2019-05-05 00:15:39

प्रतिकृया दिनुहोस्