केही मान्छेले राम्रा काम गर्छन, त केहीले नराम्रो। कोही लोभी हुन्छन् त कोही दानी।
जुम्लाको गुठीचौरमा ५ सय ९० रोपनी सरकारी जग्गा हड्पेको मुद्दा चलिरहेको अवस्थामा सिञ्जामा केही दानी मान्छे भेटिएका छन्।
गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारी मिलेर घर नजिकको जिउलो ४ हजार वर्गमिटर जमीन दानमा दिएका छन्।
५ सय ९० रोपनी जग्गा हड्पिएको जिल्लामा ४ हजार वर्गमिटर जमीन राज्यलाई दान गर्नु आफैमा पुण्यको काम हो।
यसले यतिबेला ऐतिहासिक महत्व पनि राखेको छ।
निजीबाट सार्वजनिक जग्गामा रुपान्तरण भएको यही स्थानमा सिञ्जा सभ्यताको ‘खस संग्रहालय’ बन्दैछ।
सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिञ्जा सभ्यताको जर्गेना गर्न निमार्ण हुन लागेको ‘खस संग्रहालय’को औपचारिक रुपमा शिलान्यास गरेका छन्।
यस कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी, लेखक, पत्रकार र कलाकारको टोलीलाई आयोजकले मुग्लेरी र स्थानीय बाजा बजाएर स्वागत गरेका थिए।
कर्णाली प्रदेश सरकारले पनि सिञ्जा सभ्यताको जर्गेना गर्न निमार्ण हुन लागेको ‘खस संग्रहालय’लाई प्राथमिकतामा राखेको छ।