जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण ९सोलार० वितरण गरेको छ। गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन्।
निःशुल्क सौर्य उपकरण पाएका दलित परिवार खुशी भएका छन्। वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कुशे–३ अर्छानी दतीवरका चुके कामीले पहिलोपल्ट सोलार पाउँदा निकै खुशी लागेको बताए। उनले राति घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने बताए। त्यस्तै कुशे–५ खुर्पाकी रञ्जना बादीले निःशुल्क सोलार पाउँदा निकै खुसी लागेको बताइन। उनले बत्ती नहुँदा वर्षौँदेखि टुकी र दियालोको भरमा गुजरा चलाउँदै आएको जानकारी दिइन। “छोराछोरीलाई पढ्न सजिलो हुने भएको छ, राति घरको कामकाज गर्न, खाना पकाउन सजिलो भएको छ”, उनले खुशी व्यक्त गर्दै भरिन।
बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निःशुल्क सोलार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। बत्ती नहुँदा टुकी, दियालो र मैनबत्तीको सहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ। उनले भने “गाँउपालिकामा ६६० दलित परिवार छन्। तीमध्ये अतिविपन्न ३०० परिवारलाई सोलार वितरण गरेका छौँ भने बाँकी परिवारलाई यसै वर्ष सोलारका लागि वैकल्पिक ऊर्जासँग आवश्यक पहल गर्छु।”
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालू आर्थिक वर्षमा कुशेमा ३०० र बारेकोटमा ३०० दलित परिवारका लागि निःशुल्क सौर्य उपकरण प्रदान गरेको हो। बीस वाटको सोलारको बजार मूल्य रु १० हजार ५०० पर्छ।