भैरव बहानगण गुल्मले आफ्नो परिसरमा आज विभिन्न जातका ३०० भन्दाबढी बिरुवा रोपेको छ ।
मध्यपुरथिमि गठ्ठाघरस्थित गुल्म परिसरमा आयोजना गरिएको कार्यक्रममा मध्यपुर नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, गुल्मपति हिमालय थापालगायतले फलफूलका विभिन्न जातका बिरुवा रोपेका थिए।
नेपाली सेनाले यो वर्ष वर्षायामअगावै एक लाख ५० हजार ९७७ बिरुवा रोप्ने अभियान शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाबाट शुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबात प्रारम्भ भएको एक घर एक फलफूलको बिरुवा रोप्ने’ कार्यक्रमलाई मूर्तरूप दिन सेनाले ‘एक जवान एक बिरुवा अभियान’ सञ्चालन गरेको हो।
उक्त अभियानअन्तर्गत भएको सो कार्यक्रम नासपाति, आँप, लिची, सुन्तला, अम्बा, निबुवा, भोगटे, अङ्गुरलगायत बिरुवा रोपिएको हो। गुल्मपति सेनानी हिमालय थापाले मध्यपुरथिमि नगरपालिकाकोसमेत सहयोगमा रोपिएका बिरुवा मध्यपुरथिमिकै सम्पत्तिका रुपमा रहने बताए। कार्यक्रममा मध्यपुरथिमिका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलगायत अन्य प्रतिनिधिको सहभागिता थियो।