सुन तस्करीको नयाँ शैलीः बच्चाको डाइपरमा राखेर अवैध सुन तस्करी (भिडियो)

बिएल

फिल्मी शैलीमा बच्चाको डाइपरमा सुन लुकाएर ल्याएका मोरङ कानेपोखरीका लिलाबहादुर बस्नेत त्रिुभवन विमानस्थलमा पक्राउ परेका छन्।

कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। सामान लिन आउने रूपेश गिरी र टेकबहादुर थापालाई समेत पक्राउ गरिएको उनले बताए।

लामो समयदेखि कतारमा वैदेशिक रोजगारीमा कार्यरत बस्नेत  ३ वर्षपछि छुट्टीमा नेपाल फर्किएका  थिए। उनले ल्याएको डाइपरमा शंका लागेपछि अध्यागमन प्रहरीले छानबिन गरेको थियो।

छानबिनको क्रममा डाइपरको बटममा सुन लुकाएको भेटिएपछि प्रहरीले शनिबार राति २ बजे उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका बस्नेतबाट २५–३० वटा स–साना टुक्रा सुन (करिब ५०० ग्राम) बरामद भएको प्रहरीले जनाएको छ।

‘यसको छानबिन भइरहेको छ,’ त्रिभुवन विमानस्थलका एक प्रहरीले जानकारी दिए।

नेपालमा उनलाई सुन ओसार्न सहयोग गर्ने थप २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। तर, उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

पछिल्लो केही समययता वैदेशिक रोजगारीमा जाने नेपालीहरूले सुन तस्करी गर्दै आएको रिपोर्ट सार्वजनिक भएको थियो। कतार र युनाईटेड अरब इमिरेट्स (युएई) लाई मुख्य आधार बनाउँदै सुन तस्करी हुँदै आइरहेको छ।

राति पक्राउ परेका बस्नेतको सुन भित्र्याउने तरिका अरु भन्दा अनौठो देखिएको प्रहरीले बताएको छ। ‘पहिले मलद्धार, जुत्ता, सुटकेशको विभिन्न ठाउँमा सुन लुकाएर ल्याउने गरिन्थ्यो। अहिले बालबालिकाका लागि प्रयोग हुने समानलाई माध्यम बनाइएको छ,’ काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले ब्रेकएनलिंक्सलाई बताए।

बस्नेतले आफू निर्दोष रहेको बयान प्रहरीलाई दिएका छन्। उनले कतारमा आफूसँगै काम गर्ने राम बस्नेतले फसाएको बताएका छन्।

‘राम (बस्नेत) ले घरमा श्याम्पु पठाइदिनुछ भनेर सामान दियो। मलाई सुन भन्ने जानकारी थिएन,’ विमानस्थलका एक प्रहरीले लिलाबहादुर बस्नेतको बयानलाई उदृत गर्दै ब्रेक एन लिंक्ससँग भने–‘उसले सामान लिन विमानस्थलमै मान्छे आउँछन् भनेको थियो। त्यही आधारमा हामीले थप दुई जनालाई पक्राउ गर्‍यौ।’

प्रहरीले विशेष सुराकीको आधारमा लिलाबहादुर बस्नेतलाई पक्राउ गरेको बताएको छ।

 

प्रकाशित मिति: : 2019-07-07 14:20:05

प्रतिकृया दिनुहोस्