दुर्व्यसनी पहिचानमा ‘किट’ प्रभावकारी

तस्बिरः एजेन्सी

लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु लागुपदार्थ सेवन नगरेको भनेर ढाँटे ।

प्रहरीले अभिभावककै अघि राखेर केरकार गर्दा पनि लागुऔषध प्रयोग गरेको स्वीकार गर्न उनीहरु तयार देखिएनन् । प्रहरीले तत्कालै ‘टेस्ट कीट’ प्रयोग गरेर लागुपदार्थ सेवन (लापसे) गरे/नगरेको जाँच गर्‍यो । दुवैले गाँजा र सुईंको माध्यमबाट लागुऔषध सेवन गर्ने गरेको पत्ता लाग्यो । जाँचपछि बल्ल कहिलेकाहीँ चुरोट र गाँजा सेवन गर्ने गरेको दुवैले स्वीकार गरे ।

सेवनसँगै बेचबिखनमा पनि संलग्न भएको आशङ्कामा प्रहरीले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यसरी ‘कीट’ को प्रयोग गरेर प्रहरीले (लापसे) जाँच शुरु गरेपछि अभिभावक, प्रहरीलाई ढाँट्ने, उम्कन खोज्ने, लुकिछिपी लागुऔषध सेवन गर्ने दुव्र्यसनीको सजिलै पहिचान हुन थालेको हो ।

प्रहरीले एक महीनाअघि जिल्लामै पहिलोपटक (लापसे) चेकजाँच शुरु गरेको थियो । हालसम्म ३० जनामा (लापसे) जाँच गरिएको जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। सोमध्ये २८ जनाले नियमित लागुऔषध सेवन गर्ने गरेको पाइएको छ। प्रहरीले सामान्य गाँजामात्र सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउने गरेको छ । सुईंबाटसमेत लागुऔषध सेवन गर्ने र लामो समयदेखि दुव्र्यसनमा फसेकालाई सुधारगृहमा पठाउने गरिएको छ।

प्रहरीले गोप्य सूचनाका आधारमा भेटिएका शङ्कास्पद व्यक्तिको (लापसे) जाँच गर्ने गरेको छ । लागुपदार्थ सेवन गरे÷नगरेको पत्ता लगाउन सम्बन्धित व्यक्तिको पिसाबलाई ‘टेस्ट कीट’ मा राखेर जाँच्ने गरिन्छ । गर्भ परीक्षणको जस्तै देखिने ‘कीट’ मा पिसाब राख्दा लागुऔषध प्रयोग गरेको भए ‘पोजेटिभ’ र नभए ‘नेगेटिभ’ देखाउँछ । उक्त परीक्षणबाट एक महीनाअघि सेवन गरेको भए पनि पत्ता लाग्ने प्रहरीको भनाइ छ । ‘टेस्ट कीट’ बापतको रु ५०० प्रयोगकर्ताकै अभिभावकबाट लिने गरिएको छ ।

कमजोर आर्थिक अवस्था भएका अभिभावक र लागुऔषध प्रयोग नगरेको पाइएमा भने शुल्क लिने गरिएको छैन । ‘टेस्ट कीट’को माध्यमबाट प्रयोगकर्ताले कुन लागुऔषध सेवन गरेको छ भन्ने थाहा पाउन सकिन्छ । “छोटो समयमै लापसे चेकजाँच प्रभावकारी भएको छ”, प्रहरी उपरीक्षक भट्टले भने।

शङ्कास्पद सवारी चालकमा पनि (लापसे) चेकजाँच गर्ने गरिएको छ । ‘टेस्ट कीट’ महँगो पर्ने भएकाले आर्थिक स्रोत व्यवस्थापनमा चुनौती रहेको प्रहरीको भनाइ छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीसँग साझेदारीमा काम गरिने बताए।

प्रकाशित मिति: : 2019-09-09 10:05:50

प्रतिकृया दिनुहोस्