स्थानीय तह निर्वाचन

भद्रपुरको मेयरमा यामबहादुरको सशक्त दाबेदारी

झापाको भद्रपुर नगरपालिका देशकै पुरानो नगरपालिका मध्येमा पर्दछ। व्यापारिक सहरको पहिचान बनाएको भद्रपुर विस्तारै उजाड र उराठ लाग्दो बन्दै गएको छ। कुनैबेलाको गुलजार सहर भद्रपुर, आज सुनसान छ।

व्यापारिक घरानाहरु करिब-करिब पलायन भइसकेका छन्। भएका उद्योगधन्दा रुग्ण अवस्थामा छन्। झापाको सदरमुकाम भएर पनि भद्रपुरसंग गौरवपूर्ण विगत मात्रै छ, तर गर्व गर्ने वर्तमान खासै केही छैन भन्दा फरक पर्दैन। यही भद्रपुरको समग्र मुहार फेर्न लागिपरेका छन्- यामबहादुर लिम्बू सन्तोष।

आगामी स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाको मेयर पदका उनी प्रत्यासी हुन्। राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट चुनाव चिन्ह ‘घर’ लिएर भद्रपुरको चुनावी मैदानमा होमिने उनले बताए।

भद्रपुर-३ का बासिन्दा यामबहादुर आफ्नो उम्मेदवारीबारे प्रष्ट छन्। आफू बसेको ठाउँमा राजनीतिले राम्रो काम गरेको देख्न चाहन्छन्, उनी।राजनीति गर्नेहरूले आममानिसको आकांक्षा बेवास्ता गरेकोमा उनी निराश छन्।

‘सरकारी संरचनाहरूमा परिवर्तन आवश्यक छ,’ उनले भने, ‘मेरो उम्मेदवारी कुनै व्यक्तिविरूद्ध होइन। स्थानीय तहदेखि नै सकारात्मक परिवर्तनको सुरूवातका लागि हो।’

उनी भन्दै गए, ‘हाम्रो आकांक्षा भने ज्यूँका त्यूँ छ। राजनीतिको फोहोर सफा भएको छैन। राजनीतिक नेता र नेतृत्वप्रति वितृष्णा घटेको छैन। पहुँचवाला व्यक्तिहरूले लाभ हासिल गर्दै आएका छन्। आम जीवनमा ठोस परिवर्तन देखिएको छैन। मेरो उम्मेदवारी यी सबै प्रवृत्तिविरूद्ध हो।’

कुनै राजनीतिक दलमा आबद्ध हुनु गलत होइन तर यी दलहरुको दलदलमा राष्ट्रिय जनमुक्ति पार्टीको पहिचान फरक भएको उनले सुनाए।

भन्छन्, ‘अरु पार्टीमा दलको सिद्धान्त र नीतिका पछाडि नभई नेताका पछाडि लाग्ने र नेताहरूलाई खुसी पारेर लाभ हासिल गर्ने प्रवृत्ति गलत छ। हाम्रो पार्टी समातामुलक समाज निर्माणमा जुट्को हो, समाज र विकासबाहेक हाम्रो कुनै स्वार्थ छैन। हामी व्यक्तिगत लाभ हासिल गर्ने र अपारदर्शी ढंगले तीव्र गतिमा धन कमाउनेतिर लागेका छैनौँ, लाग्दैनौँ पनि।’ आफ्नो उम्मेदवारी घोषणामा धेरैको सकारात्मक प्रतिक्रिया पाएको यामबहादुरको भनाइ छ।

‘मैले धेरै परिवर्तन गर्न त नसकुँला तर पद, पहुँच र शक्ति नभएकाहरूलाई पनि राज्यबाट पाउने सुविधामा विभेद हुने छैन भन्ने मान्यता स्थापित गर्छु,’ उनले भने, ‘राजनीति भनेको जनताको सेवाको काम हो, धन कमाउने पद होइन भन्ने पनि स्थापित गर्न चाहन्छु।’

चियाखेती उनको कृषिकर्म हो। आफ्नै खेती–किसानीले जीवन निर्वाह काफी भएकाले भ्रष्टाचारप्रति आफू कठोर हुने उनी बाचा गर्छन्।

भन्छन्, ‘जुन ठाउँ सफा गर्नु छ, त्यहीँभित्र पस्नुपर्छ। बाहिर बसेर पनि दबाब सिर्जना गर्न सकिन्छ तर यो ढिलो प्रक्रिया हो। भद्रपुर नगरपालिकालाई भ्रष्टाचाररहित स्थानीय सरकार बनाएर सबैका लागि उदाहरण देखाउन चाहन्छु।’

आफू निर्वाचित भएपछि पाउने सवै सेवासुविधा गरिब तथा विपन्नका हितमा खर्चिने र मेयरले चढ्ने गाडीलाई एम्बुलेन्समा रुपान्तरण गर्ने उनले बताए।

राजनीतिमा व्याप्त फोहोर तल्लो तहदेखि सफा गर्ने अभियानमा देशव्यापी सक्रियता बढेको उनको भनाइ छ। उनी आफूलाई लहडी उम्मेदवार मान्दैनन्।

प्रकाशित मिति: : 2022-04-05 18:07:00

प्रतिकृया दिनुहोस्

    गुड जब हो वहा जस्तै नेता हामीलाइ चाहीन्छ।

    • एक बर्ष अगाडि
    • laxuman limbu