नेपालतर्फ कुखुरा तस्करी गर्ने आठ भारतीय पक्राउ

बिएल

नेपालतर्फ ब्रोइलर कुखुरा तस्करी गर्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेको छ ।

जिउँदै तथा मारेर एक सय ४४ वटा कुखुरा भारतबाट अवैध रुपमा ल्याउँदै गर्दा विराटनगर महानगरपालिका–१५ हुलास मेटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । एक सय ४४ मध्ये एक सय दुईवटा कुखुरा मृत अवस्थामा रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

याे पनि: मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

पक्राउ पर्नेमा भारत विहार स्लामपुरका २१ वर्षी मोहम्मद सेनदेन, २२ वर्षीय आजाद अली, मोहम्मद अजबुल, अजात अली, १७ वर्षीय मोहम्मद ईरफन, १८ वर्षीय मोहम्मद मुस्तक, मोहम्मद मनु र मोहम्मद मजेबुल रहेका छन् । डीएसपी श्रेष्ठले पक्राउ परेकाहरुले भारतबाट नेपालतर्फ अवैध रुपमा ब्रोइलर कुखुरा भित्राउने काम लामो समयदेखि गरिरहेको खुलेको बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि पशु क्वारान्टाइन चेक पोष्ट विराटनगरमा बुझाइएको उनको भनाइ छ । बरामद कुखुरा आइतबार नै नष्ट गरिएको छ । बर्डफ्लु लगायतका पंक्षीजन्य रोग भित्रने सम्भावनालाई मध्यनजर गर्दै भारतबाट कुखुरा आयातमा सरकारले रोक लगाएको छ ।

 

प्रकाशित मिति: : 2019-09-09 15:40:58

प्रतिकृया दिनुहोस्