माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका–१२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको हो । माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा सोही गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइते भट्टको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-10-11 18:04:39

प्रतिकृया दिनुहोस्