प्रशासन कार्यालय पर्साका सहायक प्रजिअसहित १० जनाविरुद्ध मुद्धा

फाइल तस्बिर: बिएल

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित १० जनाविरुद्ध मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई बंशजको आधारमा नेपाली नागरिकता दिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो।

वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने अजहर हुसेन र आरिफ हुसेनलाई गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको आरोपमा पौडेलसहित वीरगञ्ज महानगरपालिका वडा नं. २ का वडाध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुब्बा चन्द्रदेव ठाकुर र प्रशासकीय अधिकृत सदनकुमार कर्ण विरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

झुट्टा विवरणको आधारमा नागरिकता लिने वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने आरिफ हुसेन र सवरुन खातुनविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ। बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको कोइरालाले जानकारी दिए।

त्यसैगरी अख्तियारले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष र पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध बिशेष अदालत काठमडौंमा मुद्दा दायर गरेको छ।

पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुरविरुद्ध मुद्धा दर्ता गरेको हो। झुट्टा विवरणको आधारमा ममताकुमारी गुप्तालाई नागरिकता प्रमाणपत्र दिएको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पौडेल र नासु ठाकुरविरुद्ध अख्तियारले मुद्धा दायर गराएको छ।

झुट्टा विवरण पेश गरी नागरिकता लिने ममता कुमारी विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ।

प्रकाशित मिति: : 2019-11-26 22:20:23

प्रतिकृया दिनुहोस्