घलेगाउँ महोत्सव सम्पन्न

तस्बिरः बिएल

लमजुङको उत्तरी भेग क्वहोलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको स्मार्ट भिलेज घलेगाउँमा २०औँ घलेगाउँ महोत्सवसम्पन्न भएको छ।

‘प्राकृतिक सुन्दरता, गुरूङ कलासंस्कृति र घरबास, घलेगाउँ समृद्धिको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्धन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’, भन्ने नाराका साथ २३ गते सोमबारदेखि शुरु भएको घलेगाउँ महोत्सव बुधबारसकिएको हो।

महोत्सवको तेस्रो दिन अर्थात् अन्तिम दिन आज जैविक खाना महोत्सव राखिएको थियो। खानामा स्थानीय कुखुराको मासु, सिस्नो, निउरो, बटमाले साग, टिमोर तथा टमाटरको अचार, मासको दाललगायतको परिकार थियो।

स्थानीयवासीले गुरूङ संस्कृतिमा आधारित, कृष्ण चरित्र, सेर्का, सोरठी, घ्याब्रेलगायतका नृत्यसमेत प्रस्तुत गरेको थिए। गुरूङ जातजातिलगायत महोत्सवमा सहभागीले उक्त नृत्य रुचाएका थिए ।

त्यस्तै, गुरुङ चलचित्रका नायक तथा गायक मनोज गुरुङ, नायिका तथा गायिका निस्ता गुरुङ, गुरुङ कलाकार प्रिया गुरुङ, प्रकाश गुरुङ, भीमु गुरुङ, प्रतिमा गुरुङ र प्रिय गुरुङको गीत तथा नृत्य प्रस्तुत गरेको थियो। कलाकारले गुरुङ तथा नेपाली गीत प्रस्तुत गरेका थिए। साथै स्थानीय कलाकारलेसमेत विभिन्न नृत्य प्रस्तुति देखाइएको थियो।

महोत्सव अवधिभर मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, लोकल कृषिउपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, नमुना चिया बगान गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन सङ्ग्रहालय महोत्वसको मुख्या आकर्षण बन्यो।

आर्थिक समृद्विका लागि गुरुङ लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजका रुपमा चिनाउन महोत्सवले सहयोग गरेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ लमजुङका अध्यक्ष क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

आगामी वर्षमा समेत घलेगाउँ महोत्सवलाई निरन्तरता दिने समितिका सचिव उमल विश्वकर्माले बताए।

प्रकाशित मिति: : 2019-05-08 22:57:32

प्रतिकृया दिनुहोस्