‘दर्शन डोल्पाको, आर्जन शान्तिको’ नारा सहितको ‍डोल्पो महोत्सवबारे राजधानीमा अन्तरक्रिया (भिडियो रिपोर्ट)

तस्बिरः बिएल

हिमाली जिल्ला डोल्पामा पर्यटक बढाउने उद्देश्यले भदौ २४ देखि २८ गतेसम्म ‘दर्शन डोल्पाको, आर्जन शान्तिको’ नारा लिएर दोस्रो डोल्पो महोत्सव हुने भएको छ।

समुन्द्र सतहदेखि १५२५-७६२५ मिटरसम्मको उचाईमा रहेको डोल्पा जिल्ला बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक रूपमा विविधता भएको पर्यटकीय जिल्ला हो।

यहाँ खस तथा मस्टो संस्कृति, तराली संस्कृति, बोन तथा बुद्धधर्मालम्भीको बाहुल्यता छ। खस, काइके र डोल्पो (पोइके) भाषा यहाँका मुख्य भाषा हुन्।

फोक्सुन्डो ताल, शे–गुम्बा, धो–तराप उपत्यका, प्राचीन गुम्बा, काञ्जिरोवा हिमालका साथै विभिन्न जडीबुटीको भण्डार मानिएको डोल्पाको प्रवर्धनमा महोत्सव कोशेढुंगा हुने विश्वास गरिएको छ।

महोत्सव संयोजक ग्याल्पो थापा भोटेका अनुसार महोत्सवले डोल्पामा सडक, खानेपानी, बिजुली, सञ्चार लगायत आधारभूत पूर्वाधार विकासका लागि सरकारको ध्यानाकर्षण गराउन अन्तर्क्रिया कार्यक्रम राखिएको हो।

डोल्पो महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले दर्शन डोल्पोको, आर्जन शान्ति भन्ने मूल नारासहित महोत्सव आयोजनाका साथै उक्त विद्यालयको रजत जयन्ती गरिने बताए।

भोटेका अनुसार महोत्सवमा लामाहरुको प्रवचन, मुखौटा नृत्य, घोडा दौड, तीर हान्ने प्रतिस्पर्धा, सांस्कृतिक कार्यक्रम (स्याब्डो) र स्थानीय परिकारहरुको प्रदर्शन गरिनेछ।

चारहजार मिटरभन्दा बढी उचाइमा आयोजना गरिएको यो नै पहिलो महोत्सव भएको आयोजकको दाबी छ। ४ हजार ७७ मिटरमा रहेको यस गाउँपालिकाले पर्यटकीय स्थलको पदयात्रा, आरोहण, दृश्यावलोकनसँगै पर्यापर्यटन, संस्कृति, जलपर्यटन, कृषि, धार्मिक, घरबास, भिरचढी र आइस स्केटिङ लगायतको प्रवद्र्धन गर्ने लक्ष्य राखेको महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्वो थापा भोटेले बताए।

महोत्सवकै अवसरमा धो–तरापमा होमस्टे शुभारम्भ गरिनेछ । हाल त्यहाँ केही होटल सञ्चालनमा छन्।

गत मंसिरदेखि डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएपछि आन्तरिक पर्यटन प्रवद्र्धन हुनेमा डोल्पाली आशावादी छन् ।

स्वदेशी तथा विदेशी दुवै खाले पर्यटकको स्वागतका लागि तम्तयार रहेको एक्सप्लोर डोल्पो ट्रेक्स एन्ड एक्सपिडिसनका अध्यक्ष जितेन्द्र झाँक्रीले बताए ।

महत्सवले राष्ट्रियस्तरको कार्यक्रम नेपाल भ्रमणवर्ष २०२० सफल बनाउने, डोल्पाको पर्यटन प्रवर्धनमा सघाउने, पुराना सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने लगायतको रहेको झाक्रिले जानकारी दिए।

डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो नामक संस्थाले धो–तराप उपत्यकामा महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सवकै पूर्वसन्ध्या पारेर आइतबार राजधानीमा महोत्सव र डोल्पाको प्रवर्धनका लागि अन्तर्क्रिया कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्यायन राज्य मन्त्री धनबहादुर बुढाले डोल्पाको पर्यटन प्रवर्धनका लागि यो महोत्सव फलदायी हुने धारणा राखे। यसका लागि केन्द्र सरकार, स्थानीय निकाय लागिरहेको स्मरणसमेत गराए।

डोल्पाको समग्र क्षेत्रको विकासमा डोल्पावासीले सामना गर्नुपरेको चुनौतीका बारेमा सरकारको ध्यानाकृष्ट गराउनु पहिलो उद्देश्य रहेको भन्दै मन्त्री बुढाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु र डोल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु दोस्रो उद्देश्यसहित जिल्लाको धार्मिक, सांस्कृतिक र सामाजिकसहित विविध कलाहरु महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरिएको छ ।

जाजरकोटदेखि दुनैसम्म ११८ किमि छ । ठाउँठाउँमा पुल बनिसकेको छैन । त्यसैले ठाउँठाउँमा जीप परिवर्तन गर्दै दुनै पुग्नु पर्छ।

महोत्सवस्थल पुग्न दुनैबाट तीन दिन हिँड्नु पर्छ । धो–तरापमा महोत्सव हेरेर नुमला र बगला भञ्ज्याङ चढेर फोक्सुन्डो ताल झर्न सकिन्छ । तालबाट दुई दिनमा दुनै बजार पुगिन्छ।

अर्को विकल्प नेपालगञ्जबाट जुफालसम्म ३५ मिनेट हवाई यात्रा गर्न सकिन्छ । जुफालबाट १० किमिमा दुनै बजार जीपमा यात्रा।

आइतबार काठमाडौंमा आयोजित डोल्पो महोत्सव तथा क्रिस्टल माउण्टेन विद्यालय रजत जयन्ती २०७६ सफल बनाउने सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोजकले सो जानकारी दिएको हो।

मानववस्ती रहेको नेपालकै उच्च स्थान डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको धो तरपमा आयोजना गरिने महोत्सवमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, सांसदहरू दुर्गाबहादुर राउत, सत्या पहाडी, गोपाल बम, छक्कबहादुर लामालगायत सांसद र डेढ सयभन्दा बढीलाई निम्तो कार्ड हस्तान्तरण गरिएको हो।

 

 

प्रकाशित मिति: : 2019-08-25 18:45:16

प्रतिकृया दिनुहोस्