साच्चिकै स्वर्ग कैलाश, मानसरोवर

चीनको स्वशासित क्षेत्र तिव्बतको पश्चिमी भेगमा पर्ने मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न हजारौं तीर्थयात्रीहरु त्यहाँ पुग्ने गर्छन्।

हिन्दु र बौद्ध धर्मावलम्बीका लागि उत्कृष्ट गन्तव्य कैलाशमा प्रत्येक वर्ष नेपाली तथा ठूलो संख्यामा भारतीय र तेस्रो मुलुकका तीर्थयात्री नेपालको बाटो भएर ती क्षेत्रको दर्शन गर्न जाने गरेका छन्।

हिमाली भेगमा पर्ने मानसरोबरमा जान ज्यादै कठिन छ। कैलाश, मानसरोवर जान नेपालबाट तिब्बतको बाटो भएर गाडीमा जान सकिन्छ। अर्को मार्ग नेपालगन्जबाट हवाईजहाजमा हुम्लाको सिमकोट हुँदै तिब्बती सीमा पुग्ने र चीन क्षेत्रमा गाडीबाट जाने गरिन्छ। यी दुवै यात्रा लामा र खर्चिला छन्।

अर्को, तिब्बको यात्रा स्वास्थ्यका दृष्टिले खतरापूर्ण पनि मानिन्छ।

नेपालमा गएको विनासकारी भूकम्पले क्षति पुर्‍याएपछि बन्द भएको तातोपानी-खासा नाका हालसम्म पनि सञ्चालनमा नरहेकोकोले पछिल्लो समय रसुवा-केरूङ र हुम्ला-सिमिकोट हुँदै जाने बाटोबाट तिर्थयात्रीको भीड हुन्छ।

समुन्द्र सतहबाट ६ हजार ६ सय ३८ मिटर उचाइमा रहेको चीनको पुलाङ काउन्टीस्थित मानसरोवर कैलाशलाई हिन्दू धर्ममा शिवको वासस्थानको रूपमा लिइन्छ।

विभिन्न हिन्दू धर्म ग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ। कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

वैशाखदेखि असारसम्म कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। तर, असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल हुन्छ।

मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने उद्देश्य लिएका धर्मावलम्बीहरूलाई कैलाश मानसरोवर पुग्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास लिइन्छ।

कैलाश, मानसरोवर जानेबाटोमध्येको सबैभन्दा सहज बाटोको रूपमा रसुवागढी-केरूङको बाटोलाई लिन सकिन्छ।

त्यहाँ नेपाली सीमा सुरक्षा बल पार गरी मितेरी पूलबाट त्रिशूली तरेर चिनीयाँ इमीग्रेशन पुगिन्छ।

इमीग्रेशन पार गरेपछि त्यहाँबाट चिनियाँ गाडीमा करिब १ घण्टाको यात्रापछि तिब्बतको प्रमुख बजार केरूङ पुगिन्छ।

काठमाडौंबाट यो बाटो भएर जाने तिर्थालुहरू दोस्रो दिन यही बास बसेको राम्रो हुन्छ।

अघिल्लो दिन समुनद्र सतहदेखि १८०० मिटर उचाईमा भएकाले २८०० मीटर पुग्दा केही हाइ अल्टिच्यूटले केही असर गर्ला कि भनेर यहाँ बास बस्दा राम्रो हुन्छ।

आफैंमा सुन्दर बजार केरूङमा प्रायः चिनीयाँ सवै खाले सामान पाइन्छ। यहाँ बसोबासका लागि राम्रा होटलहरू छन्।

भोलिपल्ट केरूङबाबाट २३२ किमि गाडीको यात्राबाट अर्को ठूलो पहाडी सहर सागा पुगिन्छ। त्यो रात साँगामा बिताउनुपर्छ।

बाटोमा दक्षिणतिर लहरै बसेका हिमाली श्रृङखलाहरु उत्तरतर्फ आश्चर्यजनक पहाडी चुचुराहरू, सम्म फाँटमा चरिरहेका भेडा, च्याङ्रा, चौरी, याक तथा घोडाहरुको वथानले कसको मन रोमाञ्चित नहोला र? ती दृश्यहरु देख्दा सवै थकानहरु दुर हुन्छन् र मन प्रफुल्लीत हुन्छ।

सागा यो क्षेत्रको सबैभन्दा विकसित र ब्यापारिक केन्द्रसमेत हो। करिब ४४ सय मिटर उचाईमा रहेको यो बजार हेर्दै सुन्दर र मनमोहक छ। हिमाली क्षेत्रमा कमै अनुभव भएका प्रायः मान्छेलाई यहाँ लेक लाग्ने सम्भावना पनि हुन्छ।

भोलिपल्ट सागालाई छोड्दै ८ घन्टाको यात्रापछि ४५ सय मिटर उचाईमा रहेको मानसरोबर लेक पुगिन्छ। यसक्रममा ५ हजार मिटरको पास पार गरेका हुन्छौं।

दक्षिणतर्फ सेता हिमाल, उत्तरतर्फ नाङ्गा राता र खैरा पहाड र विचमा सम्म समथर उपत्यका त्यसमा वनेका कल्याङ कुर्लुङ देखिने चिल्ला सडक त्यसमा गुड्ने सुविधायुक्त गाडीहरु काठमाडौंमा विभिन्न समस्याले पिल्सीएका हामीहरु त्यहाँको त्यस दृश्यले लठ्ठ नबनाउने कुरै भएन। गाडी मानसरोवरको तटमा पुगेर रोकिन्छ

निलो ताल रसातलको पल्लोपटि मानसरोवर। मानसरोवरलाई त्यस तालले घेरेको छ। ताल निकै फराकिलो र सुन्दर छ। यहाँबाट कैलाशको साउथ फेस पनि देखिन्छ।

त्यहाँ पुगेपछि आफूले आफूलाई स्वतन्त्र भएको महसुस हुन्छ। संसारै पानी पानी समुन्द्र जस्तो लाग्ने निलो, त्यसमा पौडीरहेको राजहाँस, वरिपरि हिमाल, उत्तरमा शिव लिङ्ग आकारको कैलाश पर्वत त्यहाँको मनोरम दृश्यको महिमा अपार छ।

त्यहाँ यात्रुहरू चिसोको कुनै पर्वाह नगरी सरोवरमा स्नान गर्छन्। तालमा स्नान गर्न नपाइने हुनाने छेउ किनार वा तालको पानी ल्याएर स्नान गर्ने गर्नुपर्छ।

मानसरोवको स्नानपछि आ-आफ्नो ढंगले पूजाआजा गर्ने गर्छन्। हिन्दु, बौद्ध धर्मावलम्बीले आ-आफ्नो तरिकाले पूजा गर्छन्।

मानसरोवर ताल ४५०० मीटर उचाईमा रहेको छ। करिब ४ सय स्क्वायर किमिमा फैलिएको मानसरोवरको व्याख्या स्कन्द पुराणमा पनि गरिएको छ। दत्तात्रेय हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रह्मद्धारा निर्मित मान सरोवरको दर्शन गराएर त्यसको महत्वका वारेमा वताएका थिए । त्यस स्थानमा ऋषिहरूको आश्रय स्थल पनि थियो ।

भगवान शिव स्वयं राजहंसभएर मानसरोवरमा जलपरिक्रमा गरिरहने विश्वास छ।

यस सरोवरमा सवै देवताहरु ब्रह्ममूहर्तमा स्नानका लागि आउने विश्वास गरिन्छ । मानसरोवरमा सतीदेवीको दायाँ हात गिरेको थियो, त्यसैले त्यहाँ एक शिलालाई उनको रुप मानी पूजाआजा गरिन्छ। यसलाई शक्तिपिठ मानिन्छ ।

भारतको महत्वपूर्ण नदिहरु ब्रह्मपुत्र, सिन्धु, सतलज तथा नेपालको कर्णालीनदिको मुहान यही मानसरोवर हो।

त्यसपछि झण्डै २ घण्टा लगाएर तालको परिक्रमा गर्दे मानसरोवरमा रहेका होटल बास बस्नुपर्ने हुन्छ।

भोलिपल्ट मानसरोवरबाट करिव ३ घण्टाको यात्रापछि कैलाश वेसक्याप्पस्थित धार्चेन पुगिन्छ। यहीबाट कैलाश पर्वत परिक्रमा पश्चिमी मोहडाको यमद्धारबाट सुरू हुन्छ।

तिव्बती भाषामा फन्को मार्नु, घुम्नुलाई कोरा भनिन्छ।  कोरा गर्नको लागि यमद्धार भन्दा तल रहेको चौरबाट पैदल हिड्न नसक्नेले घोडा पनि प्रयोग गर्न सक्छन्।

पैदल यात्रामा रमाउनेले वरिपरी पहाडी हिमाली श्रृंखला र बिचमा खौचैखोजको बाटो हुँदै १४ किमिको दुरी पार गरेपछि देरापोक बास बस्न पुगिन्छ। यहाँ बास बस्न सुविधाजनक गेष्टहाउसहरू छन्।

देरापोक समुन्द्र सतहदेखि ४९१० मिटर उचाईमा छ। यो कैलाश पर्वतको उत्तरी मोहडाको सवैभन्दा नजिकको स्थान पनि हो। यहाँबाट कैलाशको साक्षत दर्शन गर्न सकिन्छ।

यसको उत्तरतर्फ ऐतिहासिक बौद्ध गुम्बा छ। देरापोकलाई वरिपरिको विभिन्न आकृतिमा रहेको पहाडले घेरेको छ।

कैलास पर्वतको समीपमा पुग्दा जतिसुकै थाकेका भए पनि सवै यात्रुहरू दंग नहुने कुरै भएन।

भोलिपल्ट परिक्रमा (कोरा) गर्दै डेरापोकबाट उकालो हुँदै त्यस मार्गको सवैभन्दा अग्लो टाकुरा डोलमला पास (५६५०मि) गर्नुपर्छ।

डोलमला देरालीको प्रतिक पनि हो, त्यहाँ वौद्धमार्गीहरुले तोरण, ध्वजापताका टाँगेर सिंगारेका छन्।

डोलमाला पार गरेपछि अलिकति ओरालो झर्नसाथ तल खोचमा गौरीकुण्ड देखिन्छ। गौरी कुण्डको जललाई पवित्र मानिन्छ। त्यसपछि पहाडि चट्टानै चट्टान हुँदै १ घण्टाको ओरालोपछि तल झर्न सकिन्छ।

त्यसपछि तेर्पाइलो बाटो हुँदै २२ किमी यात्रा पछि जुथुलपुक पुगिन्छ। जहाँ पुरानो वौद्ध गुम्बा छ। सामान्य होटलहरू रहेको यहाँ पुरानो बस्ती, ऐतिहासिक घरहरू छन्। बास यही बस्दा राम्रो हुन्छ।

त्यसको भोलिपल्ट बिहान जुथुलपुकवाट बिदा हुँदै यात्रा परिक्रमाको शुरूस्थल धार्चेनतर्फ अगाडि बढ्छ। करिब ३ घण्टाको पैदलयात्रापछि धार्चेन पुगिन्छ।

कैलाश पर्वतको पुरा परिक्रमापछि अष्टपर्वतको परिक्रमा शुरू हुन्छ।

जसका लागि जीपबाट कैलाशपर्वतको दक्षिणी मोहडाको नजिक पुग्न सकिन्छ। तल खेल्साबाट उकालो चढी माथि डाँडामा पुग्न सकिन्छ, जहाँवाट कैलाशपर्वतको साक्षत दर्शन गर्न सकिन्छ।

त्यहाँ समीपमा रहेको अष्टपर्वत, नन्दी र शिवलिंगको दर्शन पनि गर्न सकिन्छ। नन्दीको परिक्रमा गर्ने हो भने पुरा एक दिन अरू पैदल हिड्नुपर्छ।

कैलास पर्वतको परिधि ३२ माइल अर्थात ४३ किमि रहेको छ । परिक्रमा पछि भगवान शिवको साक्षत दर्शन गरेको अनुभूति पाइन्छ ।

पौराणिक कथन अनुसार शिवका अलवा ब्रह्मा, आदि देवगण मरिचि आदि ऋषि, रावण, भष्मासुर आदिले यहाँ तपस्या गरेका थिए।

यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय आदिले यात्रा गरेका थिए । आदि शंकराचार्यले यही स्थानमा प्राण त्याग गरेको भनाई पनि पाइन्छ। मेरू, सुमेरु, सुसुम्ना, हेमाद्री, देवागण आदि पर्वतहरुले सुसुजित यस पवित्रस्थल मात्र नभएर प्राकृतिक छटाको भण्डार पनि हो ।

यस पवित्रस्थल हिन्दुहरुको मात्र नभएर वौद्ध, जैन, सिख, आदि धर्मावलम्वीहरुको पनि तपोभूमि हो।

भोलिपल्ट मानसरोवर र कैलास पर्वतको दर्शन गर्दै पुनः सोही बाटो भएर फर्कनुपर्छ।

यात्रुहरुले पवित्र तीर्थस्थलवाट ल्याउने वस्तुहरुमा मानसरोवर र गौरीकुण्डको जल, शिववुटिहरु र शिला (ढुंगा) प्रमुख हुन् ।

कसरी पुग्ने

पवित्र तिर्थस्थल कैलास—मानसरोवर पुग्न विभिन्न मार्ग छन्। नेपालगञ्ज, सिमीकोट, हिल्सा, ताक्लाकोट मार्ग अन्य मार्ग भन्दा छोटो मानिन्छ। तर, हवाईजहाज र हेलिकप्टरको असहजताले यस मार्ग त्यति भरपर्दो भने मान्न सकिदैन।

त्यसैगरी काठमाडौं– स्याप्रुवेसी–केरूङ–सागा–दोङवा मार्ग राम्रो चल्तीमा रहेको छ ।

सवै भन्दा सजिलो र रमाइलो मार्ग काठमाडौ, कोदारी, खासाहुँदै न्यालमको मार्ग नै हो।

काठमाडौबाट करीब ९३३ किमि दुरी रहेको सो स्थानमा वस वा जीपवाट सजिलै यात्रा गर्न सकिन्छ।  तर, यो मार्ग अहिले वन्द रहेकोले अन्य मार्गको प्रयोग गर्नु वाध्यता भएको छ।

सन् १९९२ वाट खुल्ला भएको मानसरोवर कैलास यात्रा पहिलेको भन्दा अहिले पर्यटकको संख्या वर्षैनी वृद्धि हुदै गएको छ। यहाँ वार्षिक २० हजार भन्दा बढी पर्यटकहरू जाने गर्छन्।

मानसरोवर तथा कैलाश यात्राका लागि आफूहरुले सुविधाजन्य प्याकेजको व्यवस्था मिलाएको ए वान एक्स्कर्सन एडभन्चरले जनाएको छ।

कति लाग्छ खर्च?

त्यहाँ जाने पर्यटक/ धर्मावलम्भीहरूलाई प्याकेजअनुसार फरक फरक शुल्क लाग्ने एडभन्चरले जनाएको छ। साधारणतया हरेक ट्राभल कम्पनीहरूले काठमाडौंबाट मनासरोबर जाने प्याकेजका लागि सेवा र सुविधा हेरेर नेपालीलाई १ लाख २० हजारदेखि २ लाखसम्म लिने गर्छन्।

यस्तै भारतीय पर्यटकका लागि १ लाख १५ हजार देखि २ लाख भारतीय रूपैयाँ खर्च गर्नुपर्ने हुन्छ। तेस्रो मुलुकका पर्यटकका लागि २ हजार देखि ३५ सय अमेरिकी डलर खर्चनुपर्ने ए वान एक्स्कर्सन एडभन्चरले जानकारी गराएको छ। यसमा ट्राभल कम्पनीहरूले भिसा शुल्कदेखि लिएर खाने, बस्ने, यातायात, घोडचढीलगायतका सेवा र सुविधा पाउँछन्।

तपाईहरु पनि गर्ने हैन त कैलाश, मानसरोवर यात्रा?

 

प्रकाशित मिति: : 2019-08-25 19:43:07

प्रतिकृया दिनुहोस्