टान अध्यक्षमा खुमबहादुर सुवेदी सँगै अन्जन थापाको बलियो दाबेदारी

तस्बिरः बिएल

पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने ४१ औं बार्षिक साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ।

टानको नेतृत्व चयनको विषयलाई लिएर व्यवसायीहरुबीच छलफल चलिरहेको छ। आगामी नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

उनी विगत २५ वर्ष देखि पर्यटन व्यवसायमा आवद्ध छन्। युनिक एड्भेञ्चर ईन्टरनेशनल नेपाल प्रा.लिका प्रबन्ध निर्देशक सुबेदीले यसअघि कार्यसमिति सदस्य र कोषाध्यक्षको रुपमा आफ्नो जिम्मेवारी बहन गरिसकेका छन्।

पदयात्रा पर्यटन व्यवसायको समस्या समाधान गर्दै व्यवसायीक एकता कायम गर्न, हाल कायम रहेको टिम्स बिवाद अन्त गरि टानलाई आर्थिकरुपमा शसक्त बनाउन चाहेको भन्दै नेतृत्वका लागि अवसर दिन उनले सबैसँग आग्रह गरेका छन्।

लामो समय देखि पर्यटन क्षेत्रमा क्रियाशिल त्यसमा पनि अझ सन् २००० देखि नै टानमा आवद्ध उनी सन् २००७–२००९ को कार्यससमितमा सदस्यका रूपमा कार्यरत थिए।

सन् २००९ देखि २०११ को कार्यसमितिमा कोषाध्यक्ष र अहिले सन् २०१७–२०१९ को कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन्। उनले उम्देद्वारी दिँदै आफ्नो लक्ष्य भनेको दुई वर्ष पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने भएको बताएका छन्।

‘म आकाशको तारा झारिदिन्छु भन्दिनँ, तर अहिले भइरहेको भन्दा राम्रो गर्छु । त्यो काम गर्ने क्षमता मसँग छ। किन की मैले व्यवसायीक समस्या बुझेको छु’, उनले भने,‘त्यसलाई हल गर्न र पर्यटन व्यवसायको विकास गर्न के गर्नु पर्छ भन्ने राम्रो ज्ञान छ । पर्यटन व्यवसायीको हित र पर्यटन क्षेत्रको विकासका लागि मैले उम्मेदवारी दिन लागेको हुँ।’

अहिले सम्म पर्यटन व्यवसाय परम्परागतरुपमा चलिरहेको भन्दै उनले यसलाई आधुनिकता दिन आफू नेतृत्वमा जान चाहेको बताए।

‘खास गरि अहिले विभिन्न स्थानमा सडक संजाल पुगिसकेको छ । जसको कारण पदयात्रा पर्यटकहरुको दिनहरु घटिरहेको छ । पर्यटक आउनेक्रममा पनि परिर्वतन आएको छ। त्यो अवस्थामा पर्यटनमैत्री पूर्वाधार विकास आवश्यक छ’, उनले भने।

त्यस्तै, नीजि र सरकारी क्षेत्रबीच सहकार्य गरेर पर्यटन विकासमा जानुपर्ने अवस्था छ । त्यसका लागि नेपाल पर्यटन बोर्ड र टानको सहकार्यलाई अघि बढाउन आवश्यक रहेक उनले बताए।

सुवेदी प्यानलको बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महसचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले,केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन्।

यस्तै टान निर्वाचनको लागि अन्जन थापा (कुमार) को समूहले पनि उम्मेद्वारी दिएको छ।

अहिलेको अवस्थामा पदयात्रा पर्यटन व्यवसायीहरुको व्यवसायिक मुद्दालाई उठान गर्ने ठाउँ नै भद्रगोल अवस्थामा रहेको भन्दै थापाले आफ्नो नेतृत्वमा दृश्य तथा अदृश्य रुपमा टानलाई असफल बनाउन विभिन्न तत्वहरु लागि परिरहेको बताए।

 

प्रकाशित मिति: : 2019-09-02 10:19:08

प्रतिकृया दिनुहोस्