तिप्चे झरनामा प्रकृतिप्रेमी समूह

तस्बिरः बिएल नेपाली सेवा

हरेक महिनाको चौंथो शनिबार काठमाडौंका डाँडापाखामा हाइकिङ गराउँदै आएको प्रकृतिप्रेमी समूहले आफ्नो १५० औं हाइकिङ दक्षिणी ललितपुरको तिप्चे झरना क्षेत्रमा गराएको छ । शनिबार उसको हाइकिङमा विभिन्न क्षेत्रका २३८ जना पदयात्री सहभागी थिए ।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको नीलो क्याप लगाएका हाइकर्सहरूले कोन्ज्योसोम गाउँपालिका–१ चौघरेको सिंग भञ्ज्याङदेखि तिप्चे झरना, बाघभैरव, लाँकुरे भञ्ज्याङ, तल्लो फेदी हुँदै नल्लुसम्म करिब ११ किमि पदयात्रा गरेका हुन् । पहेंलपुर तोरी बारी, गाउँले जीवनशैली, हरिया डाँडा र झरनाको सौन्दर्यमा रमाए उनीहरू ।

समूहलाई झरना क्षेत्रमा स्थानीय वडाध्यक्ष गोपिलाल सिन्ताङले स्वागत गरेका थिए । उनले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रकृतिप्रेमी समूहले गरेको प्रयासको प्रशंसा गर्दै आफ्नो गाउँपालिकामा घुमघामका लागि धेरै गन्तव्य भएको जानकारी गराए । ‘तपाइँहरू हाम्रो गाउँपालिकामा फेरिफेरि पनि आउनुहोस्’, उनले भने, ‘कोन्ज्योसोम गाउँपालिकामा घुम्न लायक धेरै ठाउँ छन् ।’

हाइकिङविज्ञ एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनका अनुसार समूहको हाइकिङमा जंक फुड र फास्टफुड निषेध गरिन्छ । स्वास्थ्यबर्धक पदयात्रामा समूहले स्वास्थ्यबर्धक फूलफुल र खाना मात्र खुवाउँछ । यसपाला उनीहरूलाई झरना क्षेत्रमा ढिँढो, सिस्नु, हरियो तरकारी, गुन्द्रुकको अचार र खुर्पानीको लालमोहन खुवाइएको थियो । समूहले गाउँलेसँग सहकार्य गरेर पदयात्रीलाई लोकल परिकार खुवाएको हो । 

आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई सधैं उचित आहार, विहार र विचार जीवनमा लागु गरेमा सधैं निरोगी र आनन्दित रहन सकिन्छ भन्ने स्वास्थ्यको मुल मन्त्र फैलाउने उद्धेश्यले समूहले विगत १३ वर्षदेखि हाइकिङ गराउँदै आएको छ । समूहको हाइकिङमा घुमघामका साथै स्वस्थ कसरी रहने, खानपिन कसरी गर्ने भन्ने ज्ञान पनि पाइन्छ।

 

प्रकाशित मिति: : 2019-11-16 13:17:25

प्रतिकृया दिनुहोस्