पत्रकारका हत्याराहरु अहिले पनि खुलेआम घुम्छन्: उपाध्यक्ष लामिछाने

बिएल

दण्डहिनता विरुद्धको अन्तराष्ट्रिय दिवस तथा प्रेस स्वतन्त्रता दिवसको अवसरमा आईतबार वीरगञ्जमा ¥याली निकालिएको छ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले ¥यालीको आयोजना गरेको हो। वीरगञ्जको घण्टाघरबाट सुरु भएको ¥याली माईस्थान, अलखियामठ, आदर्शनगर, घडिअर्वा हुँदै पुनःघण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले जनयुद्ध सुरु भएदेखि हालसम्म ३७ जना पत्रकारहरु मारिएको तथा ५ जना अझैसम्म बेपता रहेको बताए। उनीहरुको बारेमा अहिलेसम्म कुनै जानकारी नपाइएको उनले बताए।

उपाध्यक्ष लामिछानेले ३७ जना मारिएका पत्रकारहरु मध्ये ५ जनाको हत्यारा मात्रै कानुनको दायराभित्र आएको बताउदै बाँकी २७ जनाको हत्याराहरु अहिले पनि खुलेआम रुपमा घुमिरहेको भन्दै आक्रोश जनाए।

‘जनयुद्ध सुरु भएको बेलादेखि अहिलेसम्म ३७ जना पत्रकारहरु मारिएका छन्। ५ जना पत्रकारहरु अझैसम्म बेपता छन्, उनीहरुको बारेमा अहिलेसम्म कुनै जानकारी छैन।’उपाध्यक्ष लामिछानेले भने ।

पत्रकारको हत्या हुनु देशमा कानुन व्यवस्था राम्रोसँग नचलेको कुरा प्रष्ट भएको बताउदै उनले पछिल्लो समय प्रेस स्वतन्त्रताका घटनाहरु पनि बढ्दै गएको बताए।

पत्रकारहरुलाई निर्बाध रुपमा स्वतन्त्र भएर भएका घटनाहरु तथ्यपरक ढंगले प्रकाशन प्रसारण गर्ने वातावरण अहिलेसम्म पनि नबनेको उनले बताए। उपाध्यक्ष लामिछानेले अहिले पनि पत्रकारहरुलाई डरधम्की र दुर्व्यवहारको डर बिध्यमान रहेको बताए।

कोणसभालाई सम्बोधन गर्ने अन्य बक्ताहरुले डाक्टर वकिल लगायतका पेशामा रहेकाहरुले सेवाग्राहीहरुसँग फिस लिने गरेको तर, पत्रकारहरुले निशुल्क रुपमा जनतालाई सुसूचित गरि उनीहरुको हक अधिकारको लागि लड्दै आएको बताएका थिए।

उनीहरुले पत्रकारहरुको पेशागत सुरक्षाको मोर्चामा पनि आफ्नो लडाई जारी रहेको बताउदै पत्रकारिता पेशामा डर आतंकको अवस्था अहिले पनि रहेको बताए।

पत्रकारहरुलाई स्वतन्त्रता पूर्वक लेख्न र बाँच्न पाउने अधिकारलाई राज्यले सुनिश्चित गर्नुपर्ने माग गर्दै पत्रकारका हत्यारालाई कानुनले कारवाही गर्नुपर्ने मागसमेत गरेका थिए । 

प्रकाशित मिति: : 2019-11-24 21:35:23

प्रतिकृया दिनुहोस्