कथित जातीय मानसिकता

तस्बिरः बिएल

मस्त निद्रामा थिएँ। आमाले 'ओई कति सुतेकी? उठेर दुध लिन जा' भनेपछि आँखा मिच्दै गएँ।

बिहान दुध लिन जानु मेरो नियमितता थियो। दुध लिने ठाउँ उति टाढा थिएन। छिमेकी माइली आमाकोमा जानुपर्थ्यो। मलाई त्यहाँ जान मज्जा लाग्थ्यो। उनकी छोरी मेरी साथी थिइन्।

त्यो दिन उनी भैंसी दुहुँदै थिइन्। त्यतिन्जेल म उनकी छोरीसँग चुलोनेर आगो ताप्दै बसेँ। उनी आइन्। मलाई देख्नासाथ रिसले चुर भइन्। रातो पिरो अनुहार लगाउँदै 'छोइस् कि, क्या हो' भन्दै  चुल्होमा बसालेको भातको डेक्चि निकालेर भुइँमा फालिन्।

उनी रिसाएको देखेर म कापिरहेकी थिएँ। मेरो गल्ती के थियो? बुझ्नै सकिनँ। उनी एकोहोरो फतफताउन थालिन्, 'क्षेत्रीको छोरी भएर बाहुनको चुलो छुने? अबदेखि चौकाबाट यता आईस् भने खुट्टा भाच्छु, बुझिस्?'

 'बाहुनको चुलो छुनुहुन्न भनेर बा-आमाले नि सिकाएनछन् कि क्या हो? असत्ति कहीँका।' मलाई बाहुनको चुलो छुन हुन्न भन्ने थाहा थिएन। खासमा थाहा नभएपनि हुने विषय हो। न मैले सुनेँन त पढेँ। बा-आलाई समेत सरापेर हप्काएपछि म भक्कानिएर रोएँ।

घरको मुल ढोकामा पुग्नसाथ आमाले सोध्नुभयो, 'के भो किन अँध्यारो मुख लगाएकी?' भनेर। आमाका वाक्य भूईमा खस्न नपाउँदै डाको छोडेर रोएकी थिएँ। आमाले के भयो भनेर खुब केरकार गर्नुभयो। तर, मैले भनिनँ। आमाले पछिसम्म सोध्नुहुन्थ्यो। तरपनि कहिल्यै भनिनँ। त्यसबेला म कक्षा ८ मा पढ्थेँ।

समय बित्दै गयो। १२ पास भएपछि पढ्नको लागि  काठमाडौं आए। रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भएँ। बीए दास्रो वर्षको बीचमा एकदिन सँगै पढ्ने साथीसँग क्यान्टिनमा चिया खादै थिएँ। त्यहीबेला उसले मलाई पहिलो वर्षदेखि नै मन पराएको कुरा गर्‍यो। मैले उसको कुरालाई उडाउँदै भने, 'सहरमा आज लभ पर्छ भोलि छुट्छ। गाँउ जस्तो कहाँ हो र?' तरपनि हाम्रो क्यान्टिनमा भेटघाट बाक्लिदै गयो। क्यान्टिन हाम्रो अघोषित ‘डेटिङ स्पोर्ट’ बन्दैथ्यो।

झण्डै एकमहिनापछि फेरिपनि हामी क्यान्टिनमै थियौं। उसले बिहेको कुरा निकाल्यो। मैले 'घरमा माग्न जाउ न त' भनेँ। उसले सोध्यो 'तिमी बाहुन हो?' मैले भने,'क्षेत्री हो।' उसले मुख खुम्चाउँदै भन्यो,'मजाक नगर न।' मैले जवाफ दिएँ,'साँचो कुरा यही हो।' ऊ मौन भयो। केही बोलेन। केबल लामो सास लिइरह्यो।

लामो समयको मौनता तोड्दै बोल्यो'ए हो र?' आफूलाई केही नभएको जस्तो देखाउन खोजे पनि उसको अनुहारको चमक उडिसकेको थियो। मेरो त्यो बाहुन साथीसँगको अघोषित प्रेम सम्बन्ध त्यहीबेला टुट्यो र क्यान्टिनवाला डेटिङको कहानी पनि तुहियो।

सोच्थेँ छिमेकी माइली आमा पढेकी थिइनन्, त्यही भएर चुलो छुन दिइनन्। उनी पढेलेखेकी भए पक्कै यस्तो गर्दिनथिइन् जस्तो लाग्थ्यो। तर, सहरमा तथाकथित पढ्लेखेकै पुरूषले आफूले मन पराएको मान्छेको जात नमिलेको कारण पनि बिहे गर्न तयार हुन्नन् भन्ने कल्पना पनि गरेकी थिइनँ।

गाँउमा कथित तल्लो जातको भनेर सार्की, दमाई, कामीहरूले छोएको खानुहुन्न भन्दा परिवारमा विद्रोह गर्थेँ। आमालाई सँधै सम्झाउँथे। आमा स्वीकार्न सक्नुहुन्थेन। तर, अस्वीकार पनि गर्न सक्नुहुन्थेन। 'पढेर खुब बाठी भाकी जे मन लाग्छ गर' भन्नु हुन्थ्यो।

पढ्दै नपढेकि मेरी आमा अनि म सँगै बीए पढिरहेको काठमाडौंमा बस्ने त्यो बाहुन केटामा केही अन्तर भेटिएन। शिक्षाले मानसकिता परिवर्तन गर्छ भन्ने मेरो मान्यतालाई त्यो घटनाले तासको महल बनाइदियो।

वास्तवमा यो जातीयताले  एनआरएन, पिआरवाला वा ग्रिन कार्ड होल्डरहरूलाई  पनि असर गर्दोरहेछ। कुरा गर्दौमा के बिग्रिएला र? अमेरिकामा बस्ने अर्को एउटा बाहुन केटो मेरो दिदिको सम्पर्कमा रहेछ।

विवाहको चिन्ता आफ्नो परिवारलाई हुनु स्वभाविकै हो। त्यो साँझ  दिदीले भन्नुभयो 'मसँग फेसबुकमा एउटा केटा छ। अमेरिकामा पढ्दै गरेको। भर्खर नेपाल आएको छ। मलाई बिहेको लागि केटी खोजिदिन भन्यो। मैले तिम्रो फोटो देखाए। उसले मन परायो। तिमी पनि उसँग फेसबुकमा जोडिएर कुरा गर। त्यो केटा तिमीसँग कुरा गर्न चाहन्छ।'

स्कुलकोआज्ञाकारी विद्यार्थी झैं मैले दिदीले कुरा माने र त्यो केटासँग फेसबुकमा जोडिएँ। कुरा गर्दै जाँदा उसले मलाई क्षेत्री भएको थाहा पायो। विस्तारै बहाना बनाउँदै टाढियो।

जहाँ नेपालमा जस्तो जातीय विभेद छैन, भन्यो। त्यही सुखको स्वर्ग भन्दै देश छोडेका तथाकथित कार्ड होल्डरहरुले निर्माण गरेको मानसिकता कति टिठलाग्दो भन्ने यो एक उदाहरण मात्र हो।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक उल्लेख छ। त्यसका पाँचवटा उपधारामा सबै प्रकार छुवाछूतलाई दण्डनीय मानेको छ। २०५४ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेका थिए।

ऐनमा छुवाछुत गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच सय रूपियाँदेखि दश हजारसम्म जरिमाना वा दुवै हुने कानुनी प्रावधान छ। कानुन बनेका छन्। तर, ती कागजमा सिमित छन्। उजुरी कुरेर बसेका ती कानुनहरु हुँदाहुँदै पनि नेपालका करिब पचाँस लाख दलित पीडित छन्। त्यही गहुँको घानमा घन पिसिएझैं बाहुनबाट क्षेत्री र सबैबाट दलित पिसिनु परेको छ।

धारा २४ को पाँचै उपधाराको प्रतिकूल हुनेगरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराध हुन र कानुन बमोजिम दण्डनीय छन्। त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक समेत छ।

मानव समाजको विकासक्रमा आदिम साम्यवाद(धर्मशास्त्रको भाषामा सत्य युग बाहेक) पछि विभेदको सुरूवात भएको देखिन्छ। ती विभेद विरुद्ध थुप्रै संघर्ष भएका छन्। जस्तो, दासमालिक विरुद्ध विद्रोह, जमिन्दार विरुद्ध संघर्ष, औद्योगिक क्रान्ति, समाजवादी आन्दोल आदि। तरपनि विभेद उन्मुलन भएको छैन। 

जहिलेदेखि जातकोआधारमा श्रम विभाजन भयो त्यसबेला देखि जातीय विभेदले चरम रुप लिएको देखिन्छ। जसका विरूद्धमा साना ठूला सबै खाले संघर्ष भएका छन्।

विभेद केही कम भएको भनिन्छ। तर, अपवादबाहेक सबैको अवस्था भनिएजस्तो छैन। विभाजनले विभेद ल्यायो भने वैमनस्यताका साथै मानव सभ्यतालाई धुमिल हुनेगरी अहमको विकास भयो र मानसिकता संकुचित बनायो।

राजनीतिक उथलपुथलसँगै कानुनि प्रावधान भए। विश्वस्तरीय शिक्षा र  विश्वव्यापिकरणले समग्र विश्वलाई जोड्न त सक्यो। तर, विभेदको अन्त्य गर्न सकेन। यसका लागि वर्तमान राजनीतिक प्रणालीमा अर्को एउटा चोटिलो प्रहार बाँकि नै छ।

प्रकाशित मिति: : 2019-09-30 08:44:45

प्रतिकृया दिनुहोस्