नेमिक्राने एनआरएनबाट तीन उपाध्यक्ष र सचिव उम्मेद्वार : को कति पानीमा ?

नेमिक्राने एनआरएनबाट तीन उपाध्यक्ष र सचिव उम्मेद्वार : को कति पानीमा ?

संसारकै सबैभन्दा विवादास्पद छवि बनाएको एनआरएन अमेरिकाले यसपटक आइसीसी उपाध्यक्ष, महिला उपाध्यक्ष र सचिव गरी तीन पद ताकेको छ । 

उम्मेद्वारी  दिनेमा कुल आचार्य प्यानलबाट उपाध्यक्षमा डा. केशव पौडेल र महिला उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने कुमार पन्त प्यानलबाट सोनाम लामाले उपाध्यक्षमा र गौरीराज जोशीको सचिवमा उम्मेद्वारी दिएका छन् । 

उपाध्यक्ष चारजना हुने भएकाले अमेरिकाले जित्यो भने दुई उपाध्यक्ष, महिला उपाध्यक्ष र सचिव जितेर चार पदाधिकारी पुर्याउन सक्छ । तर, अमेरिकाले चुनाव जितेर पदाधिकारीको अहिलेसम्म खाता खोल्न सकेको छैन ।

यसअघि पनि उपाध्यक्षमा तीनजनाको उम्मेद्वारी परेको थियो- खगेन्द्र क्षेत्री, रविना थापा र सोनाम लामाको । तीनजनाले नै खुलातर्फ उपाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । यसपटक खगेन्द्र क्षेत्रीले चुनावी मैदान छोडे भने उनको ठाउँमा अमेरिकामा उनलाई बिस्थापित गरेर अध्यक्ष भएका डा. केशव पौडेल चुनावी मैदानमा उत्रिएका छन् । 

विगतमा भन्दा यसपटक स्थिति अलि फरक छ । चारैजना प्यानलकै उम्मेद्वार परेका छन् । त्यसैले कुनै न कुनै उम्मेद्वारले यसपटक जित्ने सम्भावना देखिन्छ । 

उपाध्यक्षमा कस्को सम्भावना कति ?

खुलातर्फ उम्मेद्वार रहेका डा. केशव पौडेल कांग्रेस समर्थित कुल आचार्य प्यानलका उम्मेद्वार हुन् ।  डा. पौडेल एनआरएन अमेरिकाका दुई कार्यकालका अध्यक्ष हुन् । अमेरिकी एनआरएनको छविलाई झगडिया एनआरएनको छवि बनाउने  डा. पौडेललाई अमेरिकाको एनआरएन अभियान बुझ्नेले खलनायकका रूपमा बुझ्छन् । साम, दाम, दण्ड भेद लगाएर अमेरिकी एनआरएनलाई हार्ड ड्राइभमा हाल्न सफल डा. पौडेलको अन्तर्राष्ट्रिय पोर्टफोलियो पनि छैन । उनले अमेरिकामा १५ हजारको हाराहारीमा रहेको सदस्यता नौहजारमा सिमीत गरिदिए । उनकै राज्यमा रहेको च्याप्टरमा पनि आधारित पदमा उम्मेद्वारी नै परेन । २६ च्याप्टर रहेको एनआरएन अमेरिका १९ राज्यमा खुम्चिएको छ । उनकै कारण पटक पटक टेनेसी कोर्ट धाउने क्रम जारी छ । र, अहिलेको महाधिवेशनमा अमेरिकाबाट दुई सूची जानुको सूत्रधार पनि उनी हुन् । यी सबै पृष्ठभूमिमा उनीबाट पीडित भएका अमेरिकी एनआरएनहरू उनीसँग बदला लिने मुडमा देखिन्छन् । यो मुडमा उनका सहगोत्री त छन् नै, गौरीराज जोशीले पनि पटकपटकको हिसाब चुक्ता गर्नुपर्ने स्थिति छ । यसै पनि अमेरिकाकै वामपन्थी मत पनि उनले पाउँने अवस्था छैन । 

यस अतिरिक्त उनको प्यानल पनि पूरै चारतारे भएकाले कुमार पन्तको तुलनामा कमजोर मानिन्छ ।

यी सबै पृष्ठभूमिका आधारमा हेर्दा उनको जितको सम्भावना झिनो देखिन्छ ।

अर्का उम्मेद्वार सोनाम लामाको जित्ने सम्भावना डा. पौडेलको भन्दा निकै बढी छ । उनी यसअघिको चुनावमा शेष घलेकी श्रीमती जमुना घलेको प्यानलबाट चुनाव लडेका थिए भने अहिले उनले त्यो प्यानल नै छाडेर अर्को प्यानलको टिकट लिएका छन् । अमेरिकाको उपक्षेत्रीय संयोजक र क्षेत्रीय संयोजक भएर काम गरेकाले उनको अन्तर्राष्ट्रिय पोर्टफोलियो पनि छ । उनलाई संसारभरकै एनआरएनले अमेरिकी एनआरएनका रूपमा चिन्छन् । सहयोग दिने नाममा पनि उनी उदार नै छन् । उनी डा. पौडेलको जस्तो शकुनी चाल चाल्न पनि जान्दैनन् र उनले अमेरिकी एनआरएनलाई तोड्नभन्दा जोड्नमा नै योगदान पुर्याएका छन् । 

उनी जितको पल्ला भारी रहेको कुमार पन्त प्यानलबाट उम्मेद्वार छन् । जनजाति भएको र त्यसमा पनि लामा भएकाले उनलाई त्यो सुविधा पनि छ । यसपटक शेर्पा र लामा मात्र पनि झण्डै दुई सयको हाराहारीमा मतदाता छन् । निवर्तमान अध्यक्ष घले पनि उनका लागि दाहिना छन् । अमेरिकाबाट पनि एउटा मत उनलाई दिउन त भन्ने धेरै छन् । चुनावका लागि चाहिने स्रोत पनि भएकै मानिस हुन् । यसअघि एकपटक हारेर पनि दोस्रो पटक प्रयास गरेकाले एनआरएनप्रतिको उनको लगावलाई प्रतिनिधिहरूले मूल्यांकन गर्छन् नै । 

यी सबै पृष्ठभूमिलाई हेर्ने हो भने यसपटक लामाको जित्ने सम्भावना अलि बढी नै छ । 

कुल आचार्य प्यानलबाट महिला उपाध्यक्षमा उम्मेद्वारी दिएकी रविना थापा खाँटी कांग्रेस र म्याग्दी कनेक्सनकी उम्मेद्वार हुन् । डा. पौडेलको पहिलो कार्यकालमा एनआरएन अमेरिकाकी उपाध्यक्ष रहेकी थापा दोस्रो कार्यकालमा उनकै विपक्षमा चुनावमा गइन् । निर्वाचनमा पराजित भएपछि उनी डा. पौडेलविरूद्ध बाराम्बार टेनेसी कोर्ट पुगिन् । तर, अहिले उनी एनआरएनको कांग्रेसी राजनीतिका कारण डा. पौडेलसँगै एउटै प्यानलबाट उम्मेद्वारी दिन पुगेकी छिन् ।

एनआरएन अमेरिकामा उनको परिचय एक जुझारू अगुवाका रूपमा रहेको छ । उनी एक किसिमले भन्ने हो भने उनी यहाँको एक स्थायी प्रतिपक्षी नै हुन् । उनलाई यहाँको संस्थापन पक्षविरोधी सबै खाले मत प्राप्त हुने छ । यसअघि खुल्लातर्फ उपाध्यक्ष उम्मेद्वार रहेकी उनी यसपालि पनि अमेरिकाबाट जाँदा खुल्ला उपाध्यक्षकै प्रचार प्रसार गरेर गएकी थिइन् । 

तर, अब उनको सिधा टक्कर कुमार पन्त प्यानलकी महिला उपाध्यक्ष उम्मेद्वार सपिला राजभण्डारीसँग छ । राजभण्डारी वर्तमान कार्यसमितिकी पनि महिला उपाध्यक्ष हुन् र उनले एकपटक त्यही पदमा उम्मेद्वारी दोहोर्याएकी छिन् । ठूला कुराभन्दा सानो काम गर्न रूचाउने छवि बनाएकी राजभण्डारीको एनआरएन अभियान लामो यात्रा र योगदान पनि छ । त्यसैले उनी यो पदका लागि हेभिवेट उम्मेद्वार हुन् । तर, रविना पनि कम आँक्नुपर्ने उम्मेद्वार हैनन् । उनको आकर्षक व्यक्तित्व, अमेरिकामा डा. पौडेलको सेखी झार्नुपर्ने अवस्था र संसारभर ठूलो संख्यामा छरिएका म्याग्दीबासी एनआरएन मतदाताका कारण उनी विजयी नहोलिन् भन्न पनि सकिन्न् ।  

एनआरएन अमेरिकाले दाबी गरेको अर्को पद हो सचिव । दुई स्थान हुने यस पदका लागि एनआरएन अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशी कुमार पन्त प्यानलबाट उम्मेद्वार रहेका छन् । सातजनाको उम्मेद्वारी परेको यो भींडमा उनी जीतको प्रवल दाबेदार मानिएको प्यानलमा परेका छन् । कांग्रेसी पृष्ठभूमिका जोशी वामपन्थी नेतृत्वको समावेसी प्यानलबाट उम्मेद्वार बनेका छन् । उनको छवि नेतृत्वदायी छैन, सम्झौतावादी छ । उनी नेतृत्वका लागि पटक्कै परिपक्व छैनन्, एनआरएन अमेरिकाको राजनीतिमा डा. केशव पौडेलसँगको सौदाबाजीमा पटक पटक चुकेका उनी क्षेत्रीय संयोजक हुँदा पनि त्यसको नेतृत्व गर्न चुकेकै हुन् ।

सचिव नेतृत्वदायी पद नभएको, दुई स्थान रहेको, जित्ने सम्भावना भएको भनिएको प्यानलबाट टिकट पाएको र पैसा पनि मज्जैले खर्च गर्न सक्ने भएकाले उनको पक्षमा वर्ड अफ माउथ पनि मिलेकै छ । यी सबैलाई आधार मान्दा उनी जित्न सक्ने उम्मेद्वारका रूपमा आँकलन गर्न सकिन्छ । 

क्षेत्रीय चुनाव आँकलन 

अमेरिकाज क्षेत्रमा क्षेत्रीय स्तरका संयोजक, उपसंयोजक, महिला संयोजक र युवा संयोजकमा त उसको दाबी हैन, दादागिरि नै चल्दै आएको छ । तर, यसपटक उसले क्षेत्रीय युवा संयोजकमा दावी नगर्दा क्यानाडाकी विमला सापकोटा निर्विरोध भैसकेकी छिन् । 

एनआरएन अमेरिकाज क्षेत्रको संयोजकका लागि दुबै उम्मेद्वार अमेरिकाबाटै छन् । न्युयोर्कका डा. विनोद शाह र टेक्सासका राजन त्रिपाठी । त्रिपाठी गौरीराज जोशीको सौजन्य कोटाबाट उठाइएका कुमार पन्तका खास मानिस हुन् । त्रिपाठीसँग एनआरएन अमेरिकाका पुराना तर सदाबहार चेहरा डा.विनोद साह उम्मेद्वार छन् । उनी कुल आचार्य प्यानलबाट उम्मेद्वार बनेका हुन् । 

डा. साह सोझा छन्, उनीसँग खासै चुनावी चातुर्य छैन । उनी यसपटक पहिलाको जस्तो तटस्थ बस्न पनि सकेका छैनन् । सुनील साह एनआरएन अमेरिकाका अध्यक्ष जितेपछि उनी 'मधेस प्रोक्सिमिटी'को जालमा परेका छन् । यो जालले उनलाई केही भोटरको हवाइ टिकट मात्र कटाउने हो कि चुनाव पनि जिताउने हो, त्यो भने यसै भन्न सकिदैन । अमेरकी एनआरएनको राजनीति बुझेका एक सञ्चारकर्मी भन्छन्- यी सोझा डाक्टरलाई बलीको बोको बनाउने भए । 

यसैगरी उपसंयोजकमा क्यानडाका अभिमन्यु बस्नेत र अमेरिकाका राम सी पोख्रेलको उम्मेद्वारी परेको छ । बस्नेत पन्त प्यानल र पोख्रेल आचार्य प्यानलका उम्मेदवार हुन् । संख्याका हिसाबले अमेरिकाका १८५ र क्यानडाका ९९ मतदाता भएकाले अमेरिकाकै पोख्रेलको पल्ला भारी देखिन्छ । उनकै लागि भनेर टेक्सासकै वेद बस्नेतले उम्मेद्वारी पनि नदिएकाले पोख्रेलकै जित्ने सम्भावना बढी देखिन्छ । 

यसैगरी क्षेत्रीय महिला संयोजकमा अमेरिकाका दुई अगुवा महिला मैदानमा छन्-राधा पौडेल र उमा कार्की थापा । राधा पौडेल डा. केशव पौडेल खेमाकी उम्मेद्वार हुन् । उनी डा. पौडेलजस्तै सकुनी स्वभावकी खेलाडी हुन् भने उमा कार्की थापा हक्की स्वभावकी छिन् । उनलाई डा. पौडेल इतरको समर्थन रहेको छ । यी दुईमध्ये को जित्ने भन्ने निर्णय क्यानडाको मतले निर्धारण गर्ने भएकाले यसै भन्न सकिने स्थिति छैन । तैपनि उमा कार्कीको सम्भावना नै बढी रहेको आँकलन गरिएको छ ।

को को सिमीत भए फेसबुकमा ?

अमेरिकाका एसी शेर्पाले सचिवमा र बेद बस्नेतले क्षेत्रीय उपसंयोजक हुन फेसबुक र पकेट मिडियामा राम्रै मिडिया हाइप सिर्जना गरेका थिए । तर, उनीहरूले आआफ्नो उम्मेद्वारी नै मिडप्याक गरिदिए । शेर्पाले कुमार पन्त समुहबाट आधिकारिक टिकट नपाएपछि प्यानलबाहिरबाट जित्न नसक्ने आँकलन गर्दै मिडप्याक गरे । बस्नेतले भने टेक्सासकै राम सी पोख्रेललाई समर्थन गर्दै उम्मेद्वारी दर्ता गरेनन् र उनले आफू र पोख्रेल उठ्दा मत काटिएर क्यानडाका अभिमन्यु बस्नेतले जित्ने सम्भावना देखिएकाले मिडप्याक गरेको अनुमान गरिएको छ ।

क्षेत्रीय उपसंयोजक पदकै लागि अमेरिकाकै दिल श्रेष्डले पनि फेसबुक भने रंगाएका थिए । तर, अन्तिम अवस्थामा उनी पनि चुनावी मैदानबाट बाहिरिए ।

यसैगरी महिला उपाध्यक्षको दाबी गरेकी बन्दना कोइरालाले पनि कुल आचार्य समूहको कांग्रेसी टिकट नपाएपछि उम्मेद्वारी दर्ता गरिनन् । उनले फेस सेभिङका लागि रविना थापाको समर्थन गर्दै उम्मेद्वारी नदिएको बताएकी छिन् ।

र अन्त्यमा, 


चुनाव हो, यसै भन्न सकिन्न । तर, आग्रह-पूर्वाग्रहम नराखी तथ्यमा आधारित भएर भन्दा सोनाम लामा र गौरीराज जाेशीले जित्ने सम्भावना देखिन्छ । डा. पौडेल र रविना थापाका लागि भने जीत त्यति नजिक देखिदैन । जहाँसम्म क्षेत्रीय संयोजक र उपसंयोजकको प्रश्न हो संयोजकमा डा. साह र उपसंयोजक पोख्रेललाई जीतका लागि शंकाको सुविधा दिन सकिन्छ । यही कुरा उमा कार्की थापाका लागि लागु नहोला भन्न सकिन्न । 

 

प्रकाशित मिति: : 2019-10-17 09:17:39

प्रतिकृया दिनुहोस्