पारिवारिक पुनर्मिलन

बिएल प्रभाव: सडकमा छाडेर भागेकाे दुई वर्षपछि ८४ वर्षीया आमालाई लिन आश्रम पुग्याे परिवार

BreaknLinks
BreaknLinks

मानवसेवा आश्रममा ‘नयाँ जीवन’ बाँचिरहेकी ‘फूलमाया आमा’को दुई वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ।

०७८ असोज २६ गतेदेखि मानवसेवा आश्रममा बस्दैआएकी उनी अन्ततः ‘हाँसीखुसी’ सिन्धुपाल्चोक फर्किएकी छिन्।

बिहीबार दिउँसो दुई बजे बुहारी दुर्गा नेपाली आफूलाई भेट्न काठमाडौँस्थित सामाखुसी शाखाको मानवसेवा आश्रममा आइपुग्दा दंग थिइन्, फूलमाया नेपाली। उनले सोचेकी समेत थिइनन्, ‘सासुआमा अब घर जाम्’ भन्दै बुहारी आइपुग्लिन् भनेर।

तर ‘फूलमाया’ले कल्पेभन्दा भइदियो उल्टो, मानवसेवा आश्रममै आइपुगिन् बुहारी दुर्गा। उनी कहाँ थिइन्, कसरी काठमाडौँ आइपुगिन्? सडकछेउकी फूलमाया कसरी पुगिन् मानवसेवा आश्रम– यसको बेग्लै कहालीलाग्दो कथा छ।


‘घुमाउने सपना देखाएर छोराले काठमाडौं ल्यायो, सडकमा छोडेर भाग्यो’


दुई वर्षअघि उनलाई कान्छा छोरा जंगबहादुरले ‘काठमाडौँ घुम्न जाम् आमा’ भन्दै ल्याए। उनी छोरासँगै गाडी चढेर सहर आइन्। छोरा आफू मात्र हराएनन् आमासमेत सडकमै छडेर भागे। 

‘फूलमाया आमा’ काठमाडौँको सडकबाट महानगरीय प्रहरीको सहयोगमा मानवसेवा आश्रम पुगिन्। आमाले सामाखुसीमा दुई वर्षदेखि ‘आश्रम जीवन’ बाँचिरहेकी थिइन्।

बिएल नेपाली सेवाले गत सोमबार ‘घुमाउने सपना देखाएर छोराले काठमाडौं ल्यायो, सडकमा छोडेर भाग्यो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। त्यो समाचार सामाजिक सञ्जालमार्फत् जताततै फैलियो। ‘फूलमाया’बारे परिवार बेखबर थियो।

उनलाई काठमाडौँको सडकमा छाडेर भाग्ने छोरा जंगबहादुरसमेत परलोक पुगिसके। अब गुनासो गर्नुपर्ने दुनियाँमा छैनन् उनी। फूलमायालाई उनको घर–परिवारले चारैतिर खोज्यो। तर कतै भेटिइनन् उनी। 

‘सासुआमालाई धेरै ठाउँमा खोज्यौँ। नभेटेपछि माया मारिसकेका थियौँ। फेसबुकमा समाचार र फोटो देखेपछि आमा काठमाण्डूमै भएको थाहा पायौँ,’ बुहारी दुर्गाले भनिन्। 

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छरिएको फूलमायाको कथा काठमाडौँदेखि सिन्धुपाल्चोकसम्म फैलिएपछि बुहारी मानवसेवा आश्रमको सम्पर्कमा आइन्। र, सासुआमा फूलमायालाई घरै लगेर गइन्। 

मानवसेवा आश्रम सामाखुसीले फूलमायालाई परिवारको जिम्मा लगाएको छ। ‘दुई वर्षपछि बुहारीलाई भेट्दा फूलमाया आमा खुसी हुनुभयो। हामीहरूलाई हात हल्लाउँदै, नमस्कार गर्दै हाँसीखुसी आफ्नो घर सिन्धुपाल्चोक फर्किनुभयो,’ आश्रमकी सुमिरा लामाले भनिन्।

प्रकाशित मिति: : 2023-06-09 10:39:00

प्रतिकृया दिनुहोस्