सम्राइ लगाइरहने जुम्लाका जुम्ल्याहा डाँडा

जुम्ला सदरमुकान खलङ्गाबाट नजिकै देखिने दुई वटा डाँडा यमला। तस्बिरः हेमन्त विवश/बिएल नेपाली सेवा

भुइचम्पा हिउँकै ओखल हिउँकै मुसल भुइचम्पा

भुइचम्पा जुम्ला पोइल नदेऊ बाबा भुइचम्पा

भुइचम्पा दले दाल मै पुर्‍याउला भुइचम्पा

भुइचम्पा फले चामल मै पुर्‍याउला भुइचम्पा

गाउँको विद्यालयमा पढ्नेताका नै सुनिन्थ्यो परिमल स्नेही र मैले नाम थाहा पाउन नसकेकी कुनै अज्ञात गायिकाको स्वरमा सजिएको गीत। आज एकाएक सम्झिरहेँ शिरानीमा राखिएका त्यही गीतका पंक्तीहरू।

सुदूर र मध्यपश्चिमका केही जिल्लाहरु जोडिएका छन्। अछाम, बझाङ्ग र बाजुरासँग जोडिएको छ मध्यपश्चिम। बिहाबरी चल्दो थियो ती जिल्लाका वासिन्दाहरु बीच। डेउडा खेल खेल्न पुगेकै हुन्थे यताका उता र उताका यता। उस्तउस्तै हो चालचलन र संस्कार पनि। मात्र कही कतै भाषिक उच्चारण फरक हुन जान्छ। कही कतै भेषभूषा र चाडपर्व मान्ने क्रममा थोरै मात्रामा अन्तर भेटिन्छ।

सीमानाका हिसावले जुम्ला केवल मध्यपश्चिमकै जिल्लाहरुसँग मात्र जोडिएको छ।  जुम्ला जस्तै मध्य तथा सुदूरपश्चिमका कतिपय जिल्लालाई सम्बोधन गरेर गीत रचना गरे, दुःख पोखे, संघर्षका कथाहरु उने र मनभरी भावनाका पोखरी सजाए कतिपय ड्यौडियाहरुले। संवेदनाका पत्रहरु हल्लाए अनि  सुन्दरताको बिहानी समेत देखाए गायक गायिकाहरुले आआफ्ना गीतका माध्यमबाट।

सरसर्ती हेर्दा सुख, दुःख, सुन्दरता, पौरख, संस्कृति, साहित्य,इतिहासका पाटाहरु केवल आंशिक रुपमा आए। पूर्णरुपले आउन सकेका छैनन्। खासै लेखिएको छैन्, देखिएको छैन् जुम्ला अनि सम्पूर्ण कर्णाली क्षेत्र।

खासै लेखिएको छैन् सेती महाकाली पनि। यसो भनिरहँदा यस अघिल्लो र पछिल्लो समयमा लेखिरहेका कैंयौ श्रष्टालाई केही गर्दै गरेनन् भन्ने नठानियोस्। हरेकको योगदान उत्तिकै सम्मानजनक छ। कतिपय कुराहरु लेखिएका छन्। देखिएका छन्। तर पनि ती सबै पूर्ण छैनन्। थुप्रै कुराहरु अझै आउन बाकी नै छन्।

२०२६ सालतिर जुम्लामा अध्ययन गर्न पुगेका सत्यमोहन जोशी, चुडामणि बन्धुलगायतका अनुशन्धानकर्ताहरुलाई पठाउन सकेन प्रज्ञा प्रतिष्ठानले दोस्रो पल्ट सिङ्गो कर्णालीमा कतै पनि।

पछिल्ला दिनमा जुन पार्टीको सरकार बन्यो केवल त्यसै पार्टीका कार्यकर्तालाई ठाउँ दिने पालनपोषण गर्ने निकायका रुपमा देखापर्‍यो प्रज्ञा प्रतिष्ठान पनि।

जस्तोसुकै मान्छे पनि प्राज्ञ बन्न थाले पार्टीको सिफारिसमा। सिंहदरवारले त कहिले नै हेरेको थियो र पश्चिमतिर। बाइसे चौविसे राज्यकालमा पश्चिमको शक्तिशाली राज्यका रुपमा चिनिने सिंजा राज्यको इतिहास आउन सकेन बिस्तृत रुपमा।

उत्खनन् गर्नुपर्ने कतिपय ठाउँ छन् त्यतातिर गएन राज्यको ध्यान। पुराना ताम्रपत्रहरु मासेर गाउँलेहरुले गाग्री बनाएका उदाहरण पनि बेलाबेलामा नसुनिएका हैनन्। पुराना बुढापाकाहरु पुगिसके क्षितिज पारि।

तिनले देखेका सुनेका र भोगेका पाटाहरु पनि खासै आउन सकेनन् लिखित रुपमा। योगी नरहरिनाथका कतिपय पाण्डुलिपीहरु धमिराले नष्ट पारिसकेको कुरा सुन्नमा आउँछ। जसप्रति कुनै निकायको ध्यान जान सकेको छैन्।

यति हुँदाहुँदै पनि केही श्रष्टाहरु देखा नपरेका हैनन्। तिनले आआफ्ना सामर्थ्र्यले भ्याएसम्म खोजनीति गरेर पाठकसामू ल्याए जुम्ला र सिङ्गो कर्णालीलाई।

थुप्रै छन् ती नामहरु। आउने दिनका लेखहरुमा चर्चा हुने नै छ ती स्रष्टाहरुको।

यतिखेर पहिलो पटक जुम्लाको राजधानी खलंङ्गा पुगेको छु। साँझ बिहान चलिरहेको छ सिरसिरे बतास। डाँडाकाडाँतिर फैलिंदै गरेको बादललेझैं जमाइरहेकै छ हैकम यहाँको बतासले पनि। झरि रोकिएको एक साता मात्र भएको रहेछ। हिउँ नै परिसकेको भने छैन्।

यो पनि हेर्नुहोस्- डेउडा सम्राटका ती दिनहरू 

तिखाको झल्लरे पीपल चौकी छापन लाग्यो भन्ने भनाइलाई मनन् गर्दा सजिलै अनुमान गर्न सकिन्छ चल्ल्या साईलाई त्यो निकै पुरानो, टाढैबाट टल्किने अग्लोस्थानमा रहेको सुन्दर पीपलको रुखसँग दाजिएको हुनुपर्छ भन्ने । निकै सुन्दर उपमाअलंकारको प्रयोग भएको देखिन्छ कतिपय गीतहरूमा । डोटी जिल्लाको सेती पारिको भूभागलाई चौकी भनिन्छ भने सेती वारिको भूभागलाई पश्ये भनिन्छ । त्यही चौकीका प्रतिनिधि पात्र थिए उनी । डेउडा गीतको दुनियामा एउटा बिम्बकै रुपमा स्थापित भए पछिल्ला दिनमा । Details

परिमल स्नेहीको गीतमा प्रयोग गरिएको हिउँको ओखल अनि हिउँको मुसल जिन्दगीकै सुन्दर बिम्ब बनिदिन्छ यहाँ। हिउँमा चिप्लेटी खेल्ने सुकिला मनहरुलाई पछिल्लो समयमा आश्वासनका हिमाल ठड्याएर चिप्लेटी खेल्न सिकाए राजनैतिक पार्टी र पार्टीका नेताहरुले। तिनले देखाएको आश्वासनको हिमाल यति चाँडै पग्लियो कि सारा राज छताछुल्ल भयो। खिन्नता थुपारी दियो अधिकांश मनहरु भित्र। विकासको पर्खाइमा बसेका मनहरुले देखिरहे तिनले गर्दै गरेको ब्रह्मलुट।

विकासे संस्थाहरुले चिरा पार्दै गएको समाज छ यहाँ। समाजका घाउ देखाउँछन् यस्ता विकासे संस्थाहरु। ती घाउहरुमा लगाउन भनी मलम दिन्छन्। अनि अलिकति सञ्चो हुन लाग्दा पुनः सिकाइदिन्छन् घाउ कोट्याउन।

कहिल्यै निको हुन नदिने गरी बल्झाइ रहन्छन् कतिपय घाउहरुलाई। भ्रम सिर्जना गरेर भ्रमित तुल्याइ दिन्छन् कतिपय मनहरुलाई।

जुम्लामा धर्म परिवर्तन गराउन आएका तीन जना अमेरिकनहरू। तस्बिरः हेमन्त विवश

जुम्लाको एउटा होटेलमा पाइला मात्र के टेकेको थिएँ भेट भयो तीन जना अमेरिकनहरूसँग। साथमा थिए एक नेपाली ठेकेदार पनि। ठेकेदार यस अर्थमा कि क्रिश्चियन धर्म प्रचारका लागि स-सानो पसल थापेका रहेछन् नेपालगञ्जमा तिनले।

तिनीसँग सामान्य परिचय के भएको थियो पढाउन थालिहाले पाठ भगवानका बारेमा। मेरो छेउमा चुपचाप बसिरहेका थिए ती गोराहरु पनि। अमेरिकाको मिचिकन राज्यका नागरिक तिनीहरुको जुम्ला पुग्नुको एउटै उद्देश्य थियो धर्मको प्रचार गर्नु। अर्थात यहाँका सर्वसाधारण मान्छेहरुलाई किन्नु।

पहिलो पटक जुम्ला पुगेका बृद्घ अवस्थाका पास्टरसमेत थिए तिनका साथमा। हुम्ला निवासी शाही थरका ती मनुवाले खाना, नास्ता खानुअघि हात जोडेर अंग्रेजी भट्याउँदै यशुको प्रार्थना गरिरहेको दृश्य गजबको थियो।

ती भित्री मनले यशुको प्रार्थना गरिरहेका थिएनन्। गोराहरुको चाकडी गरिरहेका थिए। मेरो दृष्टिमा ती मनुवा दरिद्र थिए, टिठ लाग्दा थिए।

कोही स्वस्फूर्त ढंगले कुनै धर्म अँगाल्छ भने त्यो उसको अधिकार हो। मान्छे जहाँ जेमा रमाउन खोज्छ रमाउन दिनुपर्छ। तर भ्रमको बीऊ छरेर, झुठको खेती गरेर, आश्वासनका गराहरु देखाएर, प्रलोभनका चकलेटहरू बाँडेर सोझा सर्वसाधारण मान्छेको मनलाई मोड्न खोज्नु एक प्रकारको अपराध हो।

मलाई समेत नयाँ मान्छे देखेर जैमसी भन्दै अभिवादन गरिरहेका थिए कार्यक्रममा आएका जुम्लाका बिभिन्न गाउँमा बसोबास गर्ने केही युवायुवतीहरू।

तिनले मलाई पनि ठाने होलान् ती गोराहरुसँगै क्रिश्चियन धर्मको प्रचारमा आएको भनेर। ती अधिकांश युवा युवतीहरुलाई सोध्दा एउटै उत्तर पाइन्थ्यो। भगवान् येशुको प्रार्थना गर्दा स्वर्ग जान पाइन्छ। यो धर्मले न्याय दिन्छ। सही मार्ग देखाउँछ .....।

यस्ता खाले भ्रम छरेर किनिरहेका छन् ती गोराहरुले यहाँका कतिपय युवायुवतीहरूको मनलाई। तिनका एजेन्ड बनेका छन् यहाँका कतिपय ठगहरु। 

होटेलको प्राङ्गणसँगै जोडिएको हलमा दिनभरी जसो चलिरह्यो नाचगान र येशुको भजन। १५० जनाको लागि पाकिरहेको थियो मासु भात। म कुनै पनि धर्मप्रति कट्टरता देखाउने प्रवृत्तिको समर्थन गर्न चाहँदिन। धर्मको कट्टरता एक प्रकारको ढोंगीपन ठान्दछु।

यो पनि हेर्नुहोस्- 

दसैंको बाडुली 

पढाउदा रहेछन् जिन्दगीको पाठ । दर्साउदा रहेछन् बेलाको महत्व । आज यो विरानो सहरमा अँध्यारो रात आढेर सम्झिरहेको छु – आमा अनि दसैं नआउँदै आमाले पठाउने गरेको बाडुलीको लय । दसैंको भोलिपल्ट पारि डाँडामा सुनिएका ढोलक दमाहा र जुनेली रातमा चालिएको पैतलीको चाल, जो जिन्दगीका प्रतीक थिए ।Details

मैले तिनीहरुको कार्यक्रम हेर्न पनि चाहिनँ। मात्र सम्झिरहेँ हिजोको जनयुद्वलाई साथ दिने कर्णाली, युद्वमा शाहदत प्राप्त गरेका शहिदहरु,तिनका परिवारको बेहाल स्थिति, गणतन्त्र आएको खवर सुन्नासाथ प्रफुल्लित बनेका मनहरु, भ्रष्टाचारको टुँडिखेल बनेको अहिलेको समय, सर्वसाधारणलाई किनिरहेका विकासको नाममा विकृति निम्त्याइरहेका विकासे संस्थाहरु, विकासको पर्खाइमा दृष्टि बिछ्याइरहेको कर्णालीलाई।

तीन दिनको जुम्ला बसाइमा बिभिन्न तर्कनाले बास गरिरहे मनमा। आफ्नै ठाउँमा केही गर्छु भनेर फर्किएका खेल जगतका चम्किला तारा हरि रोकायासँगको कुराकानीले निकै नै भावुक तुल्याइरह्यो।

सरोज शाही, महेश नेपाली, पूर्ण घिताल, गोविन्द सुनार जस्ता ठाउँको लागि केही गर्नुपर्छ भनेर लागिपरेका मनहरुसँगको परिचयले छुट्टै आनन्द दिलाइरह्यो।

समय अभावका कारण घुम्नुपर्ने धेरै जसो ठाउँहरू घुम्न पाइएन। एक किसिमको थकथक लागिरह्यो मनमा।

जुम्ला आफैंमा एक सुन्दर अनि पवित्र भूमि हो। कैयौ मीथहरू बोकेको छ जुम्लाले। उसो त जुम्लाको नाम नै एक प्रकारको सुन्दर मिथसँग जोडिएको छ।

खलङ्गाबाट नजिकै देखिने दुई वटा डाँडालाई यमला भनियो। यमलाको अर्थ हो जुम्ल्याहा। संस्कृत भाषामा य लाई ज का रुपमा उच्चारणका गरिन्छ। वेदका ऋचाहरु पढ्दा पनि सुनिन्छ जेग्गेन जेग्गेमय......।

लिखितमा ज नभएर य हो। मात्र उच्चारण गर्दा ज भनेर पढिन्छ। त्यस्तै यमला पनि जमला हुँदै जुम्ला हुन गएको कुरा सुनाउँछन् विद्वान्  रमानन्द आचार्य।

यो पनि हेर्नुहोस्- विप्लवका दाजुसहित २१  नेता कार्यकर्ता दाङबाट पक्राउ 

प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका - ४ को मुग्रेटाखोलास्थित जंगलमा बैठक चलिरहेको स्थानबाट २१ जना नेता कार्यकर्ता पक्राउ गरेको हो। Details

जुम्लाको नामाकरणको कथासँग जोडिएका ती जुम्ल्याहा डाँडाहरु निकै नै सुन्दर देखिन्छन्। तिला नदीको छेउछाउको वस्ती, ती फाँटहरु र पहेला धानका गराहरु देख्दा लाग्छ सुन्दरता र भावनाको पोखरीमा डुब्नेहरु बिर्सिन्छन् होला परेली झिमिक्क पार्न पनि।

मलाई पनि एक अवोध बालकले काखमा बसेर एकोहोरो आमाको मुहार हेरिरहेझै लामो समय त्यतै बसेर हेरिरहन मन नलागेको हैन वरपरको सुन्दर दृश्य। तर, रवर्ट फ्रस्टले आफ्नो कवितामा भनेझैं छैन मसँग समय धेरै बेर यहाँ बसिरहनलाई।

एकातिर आर्थिक भार थाम्न सक्ने स्थिति छैन अर्कातिर दुई साता भित्रमा घुमिसक्नुपर्नेछ मैले मुगु, कालिकोट, बझाङ, बाजुरालगायतका जिल्लाहरू। त्यसैले पनि फ्रस्टको कविताका तिनै अन्तिम पंक्तीले हल्लाइ रहन्छन् मनलाई बारम्बारः

माइल्स अगो बिफोर आई स्लिप।

माइल्स अगो बिफोर आई स्लिप।

सम्राइ लगाइरहेकै छन् मनमा बास गरिरहेकै छन् ती जुम्ल्याहा डाँडाले।

प्रकाशित मिति: : 2019-10-17 10:21:06

प्रतिकृया दिनुहोस्