कविता : बाटो

बिएल

देशको रक्षार्थ सिपाही भएका उपल्ला घरे ठूले
नयाँ नेपाल बनाउँछु भन्दै
समृद्ध नेपाल बनाउँछु भन्दै
क्रान्तिको झोला बोकेर हिँड्ने
तल्लाघरे साने
हाँडेभिरमा पड्किएको बमको छर्रा लागेर
दुबैजना एकैपटक घाइते हुँदा
उपचारको लागि
एकैपटक अस्पताल पु–याइएपछि
नर्सका कोमल हातहरुले
सलाइन चढाइएपछि
पट्टी बाँधेर औषधि चलाइएपछि
फरक उद्देस्य बोकेका ठूले र साने
एउटै औषधिले एकैपटक निको भएपछि
उनीहरुलाई लाग्यो
बम र औषधिका न कुनै शत्रु हुँदा रहेछन्
न कुनै मित्रहरु नै ।

गर्भवती श्रीमती छाडेर
भविष्य खोज्न परदेशिएका कार्की दाइ
घरमा छोरी जन्मिएको खबर पाए या पाएनन् कुन्नि
तर बर्षौ बितिसक्दा पनि घर फर्केर आएनन्
समयसँगै हुर्किएको छोरीले
घरछेवैमा फुलेको गोदावरीको एक थुङ्गा फूल टिपेर
‘बाबा छित्तै घर फल्केल आउनू है’ भन्दै
मन्दिरमा चढाएको भोलिपल्टै
छेउघरकी साइँली आमाले
एउटै सुगन्ध दिने
गोदावरीको अर्को थुङ्गा फूल
भरखरै आँगनीमा ल्याएर राखिएको
काठको बाकसभित्रका कार्की दाइमाथि चढाएपछि
उनलाई लाग्यो
भविष्य खोज्न परदेशिने कार्की दाइहरु
घरदेशिने बाटो भनेको
काठको बाकस पो रहेछ ।

अस्पतालबाट सिटामोल किनेर
लौरो टेक्दै फुर्तिका साथ
घर फर्किदै गरेका
नब्बे बर्षिय हजुरबाले
भरखर विष सेवन गरेपछि
उपचारका लागि अस्पताल लगिँदै गरेको
एमबिबिएस पढ्दै गरेको
चैबिस बर्षिय नाति
बीच बाटोमा भेटेपछि
उनलाई लाग्यो
कमजोर हातहरुले बनाएका बाटाहरुभन्दा
कमजोर मनले बनाएका बाटाहरु
दर्दनाक पो हुँदारहेछन् ।
(पर्वत, हाल–म्याग्दी)

प्रकाशित मिति: : 2019-11-27 15:32:03

प्रतिकृया दिनुहोस्