आर्थिक कारण दोस्रो विश्वकपको आयोजना पनि इङ्ल्याण्डले नै गर्यो। यसपालि पनि प्रुडेन्सियलले नै लगानी गर्यो।
सन् १९७९ मा आयोजना भएको दोस्रो विश्वकपको फरम्याट पहिलोजस्तै रह्यो। तर, इस्ट अफ्रिकाको स्थानमा दोस्रोमा क्यानडालाई स्थान दिइयो। न्युजिल्याण्ड र इङ्ल्याण्ड फेरि सेमिफाइनलसम्म पुग्न सफल भए। तर, लिग खेलमा अस्ट्रेलियालाई ८९ रनले पराजित गर्दै सनसनी मच्चाएको पाकिस्तान एसियाको प्रतिनिधित्व गर्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो।
दुर्भाग्य, सेमिफाइनलमा पाकिस्तान ४३ रनले वेष्टइन्डिजसँग पराजित हुन पुग्यो। यी दुई देशबीचको खेल त्यतिबेला विश्वकपकै सर्वाधिक योगफलको खेल हुन पुगेको थियो।
विश्व क्रिकेटको अहिलेसम्मकै सर्वाधिक सफल प्रारम्भिक जोडी गोर्डन ग्रिनिज र डेसमन्ड हेन्सको १ सय ३२ रनको साझेदारी, भिभियन रिचर्ड्स र क्लाइभ लोयडको बिस्फोटक ब्याटिङका कारण वेष्ट इन्डिजले पहिलो इनिङमै २ सय ९३ रन, ६ विकेटको क्षतिमा, ६० ओभरमा बनाउँदै चुनौती दिएको थियो।
प्रत्युत्तरमा माजिद खान (८१) र जाहिर अब्वास (९३) ले दोस्रो विकेटका लागि ३६ ओभरमा १ सय ६६ रनको साझेदारी गरे पनि ७४ रनमा बाँकी ९ विकेट गुमाउँदै पाकिस्तान २ सय ५० रनमा खुम्चिन पुगेको थियो।
यतिबेला वेष्ट इन्डिजमा एन्डी रोबर्ट्स, माइकल होल्डिङ, जोएल गार्नर, कोलिन क्रोफ्टजस्ता खतरनाक तीब्र बलर समावेश थिए।
वेष्ट इण्डिजले फाइनलमा इङ्ल्याण्डलाई लज्जास्पद ९२ रनले पराजित गरेको थियो । रिचर्ड्सले एक्लै अविजित १ सय ३८ रन बनाए। र, वेष्ट इन्डिजले लर्ड्समा दोस्रो पल्ट ट्रफी उचाल्यो।
ग्रिनिजले सर्वाधिक २ सय ५३ रन बनाए। सर्वाधिक १० विकेट इङ्ल्याण्डका माइक ह्यान्ड्रिक्सले लिए।
हेर्नुहोस् भिडियोमा