दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विश्व कपमा उत्कृष्ट सुरुवात गरेको बंगलादेश त्यसपछिको खराब नतिजाले स्तब्ध छ। मंगलबार श्रीलंकाविरूद्ध हुने चौथो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुनः ट्रयाकमा आउने अवसर पनि हो, बंगलादेशका लागि।
तर, १९९६ को विश्व विजेता टिमलाई पराजित गर्नु सोचेजति सहज पक्कै हुनेछैन। बंगलादेशले दक्षिण अफ्रिकाविरूद्ध ३ सय ३० रनको उच्च स्कोर बनाएको थियो। त्यो उसको एकदिवसीयमा अहिलेसम्मकै उच्च योगफल हो। तर, यसपछि न्युजिल्यान्डसँग २ विकेट र आयोजक इंग्ल्यान्डविरूद्ध १ सय ६ रनको पराजय भोगेको बंगाली टोली धेरै ठाउँमा कमजोर देखिएको छ।
यद्यपि सकिब अल हसनले लगातार उत्कृष्ट ब्याटिङ गर्दै आइरहेका छन्। उनले तीन वटा खेलमध्ये दुईमा अर्धसतक र एकमा सतक बनाएका छन्। आजको खेलमा पनि उनीबाट बंगलादेशले ठूलो आशा राखेको छ।
विकेटकिपर मुसफिकुर रहिमले पनि राम्रो ब्याटिङ गरेका छन्। सौम्या सरकार र तमिम इकबालको प्रारम्भिक जोडीले राम्रो सुरुवात दिन सकिरहेका छैनन्।
यस बाहेक बंगलादेशको सबैभन्दा ठूलो चुनौति भनेको बलिङ हो। इंग्ल्यान्डविरूद्ध बंगाली बलरले ३ सय ८६ रन खर्चेका थिए।
बंगलादेशको तुलनामा श्रीलंका केही सुदृढ देखिन्छ। न्युजिल्यान्डविरूद्ध पहिलो खेलमा १० विकेटको पराजय भोगेको श्रीलंकाले यसपछि लय समातेको छ। दिमुथ करुणारत्नेको कप्तानीमा यो टिमले अफगानिस्तानलाई पराजित गरेको छ भने पाकिस्तानविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाड्न बाध्य भएको थियो।
बंगलादेश हाल आइसिसी वरियतामा सातौं नम्बरमा छ। श्रीलंकाको वरियता ९ छ। यी दुई देश बीच ४५ वटा एकदिवसीय भइसकेको छ। जसमा श्रीलंकाले ३६ पल्ट जित निकालेको छ। बंगलादेशले ७ पल्ट जितेको छ। २ खेलको नतिजा निस्किएको थिएन।
ब्रिस्टलमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ।
सम्भावित टिम
बंगलादेशः मसरफी मुर्तजा (कप्तान), अबु जैद, लिटन दास, महमुदुल्लाह, मेहदी हसन, मोहम्मद मिथुन,मोहम्मद सैफुद्धिन, मोसद्धक हुसैन, सुसफिकुर रहिम, मुस्तफिजुर रहमान, रुबेल हुसेन, सब्बीर रहमान, साकिब अल हसन, सौम्या सरकार र तमिम इकबाल।
श्रीलंकाः दिमुथ करुणारत्ने (कप्तान), धनन्जय डिसिल्भा, जुवान प्रदीप, अविष्का फर्नान्डो, सुरंगा लकमल, लसिथ मलिंगा, एञ्जेलो म्याथ्युज, कुसाल मेन्डिस, जीवन मेन्डिस, कुसाल परेरा, तिसारा परेरा, मिलिन्डा श्रीवर्धना, लाहिरु तिरिमाने, इसुरु उदाना र जेफ्री वन्डारसे।