ग्रिस गेल र इयोन मोर्गनबीचको रोमाञ्चक भिड्न्त आज

तस्वीरः एजेन्सी

पाकिस्तानसँग पराजय भोगेको इंग्ल्यान्ड र पाकिस्तानलाई पराजित गरेको वेष्ट इन्डिज बीचको अर्को रोमाञ्चक खेल आज हुँदैछ।

विश्व कपअन्तर्गत १९ औं खेलका लागि शुक्रबार साउथहाम्पटन मैदानमा यी दुई देश उत्रिँदा वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान ग्रिस गेल र इंग्लिस कप्तान इयोन मोर्गनको ब्याटिङले जित र हारको अंक गणितलाई धेरै अर्थमा प्रष्ट पार्नेछ।

गेलले इंग्ल्यान्डविरूद्ध एकदिवसीयमा १ हजार ५ सय ९६ रन बनाइसकेका छन्। उनले ५१ दशमलव ४८ को औसतले ३३ इनिङमा ४ सतक र ८ अर्धसतकको सहयोगले यति धेरै रन बनाएका हुन्।

यसै वर्षको घरेलु शृंखलामा पनि उनले इंग्ल्यान्डविरूद्ध ४ इनिङमा २ सतक र २ अर्धसतकको सहयोगले ४ सय २४ रन बनाएका थिए। यतिबेला उनले ३९ छक्का लगाएका थिए, जुन एउटै शृंखलामा कुनै पनि ब्याट्सम्यानले हानेको सर्वाधिक छक्काको कीर्तिमान हो।

इंग्लिस कप्तान मोर्गनको पनि साउथहाम्पटनमा उत्कृष्ट प्रदर्शन छ। उनले यही मैदानमा ६ सय १० रन बनाएका छन्। उनले १२ इनिङमा २ सतक र २ अर्धसतकको सहयोगले ५ सयभन्दा बढी रन बनाएका हुन्।

इंग्ल्यान्डले यसै वर्ष क्यारेबियन भ्रमणमा ५ एकदिवसीय खेलको शृंखलालाई २–२ को बराबरीमा राख्न सफल भएको थियो।

विश्व कपमा वेष्ट इन्डिजले एक पल्ट मात्र इंग्ल्यान्डलाई जितेको छ। सन् १९७९ को दोस्रो विश्व कपको फाइनलमा वेष्ट इन्डिजले आयोजक राष्ट्रलाई पराजित गरेको थियो। त्यसयता विश्व कपको पाँच भिडन्तमा क्यारेबियन टिम पराजित भएको थियो।

विश्व कपमा यी टिम अन्तिम पल्ट २०११ मा भिडेका थिए। ८ वर्षपछि दुवै टिमको विश्व कपमा भिड्न्त हुन लागेको हो।

मोर्गनबाहेक इंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टो वेष्ट इन्डिजका लागि खतरनाक बन्न सक्छन्। उनले ६७ दशमलव १६ को औसतले अहिलेसम्म वेष्ट इन्डिजविरूद्ध ४ सय ३ रन बनाइसकेका छन्।

अफ स्पिनर एस्ले नर्सका लागि पनि आज एकदिवसीयमा ५० विकेट पुरा गर्ने मौका हुनेछ। पाकिस्तानविरूद्ध बलिङ गर्न नपाएका क्यारेबियन बलरले दक्षिण अफ्रिकाविरूद्ध वर्षाले प्रभावित खेलमा पनि बल गर्न पाएका थिएनन्। अस्ट्रेलियाविरूद्ध पछिल्लो खेलमा सबै विकेट तीब्र बलरले लिएका थिए।

वेष्ट इन्डिजले अन्तिम पल्ट सन् २००७ मा इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको थियो। यसपालि केही लयमा देखिएको वेष्ट इन्डिजलाई १२ वर्षपछि इंग्ल्यान्डलाई उसैको घरमा पराजित गर्ने मौका छ। आजको खेललाई वेष्ट इन्डिजको तीब्र बलरविरूद्ध इंग्ल्यान्डको ब्याटिङ लाइन–अपको रुपमा पनि हेरिएको छ।

वेष्ट इन्डिजका तीब्र बलर कप्तान जासन होल्डर, शेल्डन कोटरेल, एन्ड्रयु रसेल, ओसाने थोमस र कार्लोस ब्रेथवाइटले उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई १ सय ५ रनमा अल–आउट गराएका थिए। अस्ट्रे्लियालाई पनि यी बलरले दबाबमा राखेका थिए। तर, वेष्ट इन्डिज २ सय ८९ रन पछ्याउने क्रममा १५ रनले पराजित भयो। दक्षिण अफ्रिकाविरूद्ध वर्षाले प्रभावित खेलमा पनि कोटरेलले २ विकेट लिइसकेका थिए।

आजको खेलमा घुँडाको चोटका कारण इंग्ल्यान्डका तीब्र बलर मार्क उड अनुपस्थित रहने छन्।

प्रकाशित मिति: : 2019-06-14 10:52:04

प्रतिकृया दिनुहोस्