भारतले पाकिस्तानलाई दियो ३ सय ३७ रनको लक्ष्य

तस्वीरः एजेन्सी

विश्व कपको सबैभन्दा प्रतिक्षित भारत–पाकिस्तानबीचको खेल वर्षाबाट प्रभावित भएपनि भारतले ३ सय ३७ रनको लक्ष्य पाकिस्तानलाई दिएको छ।

टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको पाकिस्तानविरूद्ध भारतीय टिमले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३६ रन बनाएका छन्। ४६ दशमलव ४ ओभरमा वर्षाले खेल केही बेर रोकेपनि खेल पुनः सुचारु भएको थियो। त्यतिबेला भारत ४ विकेटमा ३ सय ५ रनको अवस्थामा थियो।

भारतका लागि उपकप्तान रोहित शर्माले १ सय १३ बलमा १४ चौका र ३ छक्काको सहयोगले १ सय ४० रनको सतकीय इनिङ खेले। जारी विश्व कपमा रोहितको यो दोस्रो सतक हो। उनी पाकिस्तानविरूद्ध लगातार दुई सतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान पनि बनेका छन्।

गत वर्ष दुबईमा उनले पाकिस्तानविरूद्ध अविजित १ सय ११ रन बनाएका थिए।

रोहितले पहिलो विकेटका लागि केएल राहुलसँग मिलेर १ सय ३६ रनको सतकीय साझेदारी पनि गरेका थिए। केएल राहुलले ५७ रन बनाए। उनको पनि विश्व कपमा यो पहिलो अर्धसतक थियो।
तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिएका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ११ हजार रन पुरा गर्ने क्रममा ७७ रनको अर्धसतकीय इनिङ खेले।

विराट छिट्टै ११ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन्। उनले आफ्नै देशका अग्रज ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमानलाई भंग गर्दै २ सय २२ एकदिवसीय इनिङमा ११ हजार रन पुरा गरेका हुन्। उनले सचिनभन्दा ५७ इनिङ कम खेलेका छन्।

पूर्व कप्तान महेन्द्रसिंह धोनी १ र हार्दिक पाण्ड्या २६ रन बनाएर आउट भए। पाकिस्तानी बलर मोहममद आमिरले ३ विकेट लिए।

विश्व कपमा पाकिस्तानविरूद्ध भारतले दोस्रो पल्ट ३ सयभन्दा बढी रन बनाएको हो। गत विश्व कपमा एडिलेट मैदानमा पाकिस्तानविरूद्ध भारतले ३ सय रन बनाएको थियो।

प्रकाशित मिति: : 2019-06-16 19:50:20

प्रतिकृया दिनुहोस्