भारतले सातौ पल्ट पनि विश्व कपमा आफ्नो चिरपरिचित प्रतिद्धन्द्धी पाकिस्तानलाई पराजित गरेको छ। यस वर्षको विश्व कपअन्तर्गत आइतबार म्यानचेस्टरको ओल्ड ट्राफोडमा भएको खेलमा भारतले ‘डर्कवर्थ एन्ड लुइस’ नियमको आधारमा ८९ रनले पाकिस्तानलाई पराजित गर्यो।
सन् १९९२ को विश्व कपयता भारत र पाकिस्तानबीच भएको ७ वटै प्रतिस्पर्धामा भारत विजयी भएको हो।
दुई पल्ट वर्षाले प्रभावित खेलमा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो। प्रत्युत्तरमा ३ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाउँदा पुनः वर्षाले खेल बिथोलेको थियो।
वर्षाका कारण पाकिस्तानले ‘डर्कवर्थ एन्ड लुइस’ नियमको आधारमा ४० ओभरमा ३ सय २ रन बनाउने नयाँ चुनौति पाएको थियो। अर्थात पाकिस्तानलाई ५ ओभरभित्र १ सय ३६ रन बनाउनु पर्ने बाध्यता आइलागेको थियो। तर, पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन मात्र बनायो।
भारतको जितमा रोहित शर्माको सतकीय इनिङ तथा कुलदीप यादव र हार्दिक पाण्ड्याको उत्कृष्ट बलिङ कारण बन्यो।
टस हारेर पहिलो ब्याटिङ गर्न उत्रिएको भारतले संयमित हुँदै ब्याटिङ गरेको थियो। प्रारम्भिक ब्याट्सम्यान शिखर धवन औलाको चोटका कारण अनुपस्थित भएपछि उनको स्थानमा केएल राहुलले उपकप्तान तथा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मालाई साथ दिएका थिए।
यी दुवैले मिलेर पहिलो विकेटका लागि १ सय ३६ रनको साझेदारी गरेका थिए। रोहितले यस विश्व कपमा दोस्रो सतक पुरा गरे। उनले १ सय १३ बलमा १४ चौका र ३ छक्काको सहयोगले १ सय ४० रन बनाए।
उनको एकदिवसीयमा २४ औं सतक थियो। उनी भारतका सचिन तेन्दुलकर र कप्तान विराट कोहलीपछि २४ सतक बनाउने तेस्रो भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्। पाकिस्तान विरूद्ध उनको लगातार दोस्रो सतक थियो। गत वर्ष दुबईमा पनि उनले १ सय ११ रनको अविजित इनिङ खेलेका थिए।
राहुलले विश्व कपको पहिलो अर्धसतक बनाए। उनले ७८ बलमा ३ चौका र २ छक्काको सहयोगले ५७ रन बनाएका थिए।
कप्तान विराटले ७७ रन बनाए। उनी एकदिवसीयमा सबैभन्दा छिटो ११ हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बन्न पुगेका छन्।
यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो। विराटले २ सय २२ इनिङमा ११ हजार रन पुरा गरे। विराटको एकदिवसीयमा ५१ औं अर्धसतक पनि हो। पूर्व कप्तान महेन्द्रसिंह धोनी १ रनमा आउट भएपनि हार्दिक पाण्ड्याले १९ बलमा १ छक्का र २ चौकाको सहयोगले छिटो २६ रन हिर्काए।
पहिलो खेल खेलिरहेका विजय शंकरले अविजित रहँदै १५ रन बनाए। भारतले ब्याटिङ गरिरहेको बेला ४५ दशमलव ४ ओभरमा पानी पर्न थालेको थियो। तर, केही समयमै पानी रोकिएपछि भारतले पुरै ५० ओभर खेल्यो।
पाकिस्तानका तीब्र बलर मोहम्मद आमिरले ३ विकेट लिए। उनले विराटलाई आउट गरेका थिए। वहाब रियाज र हसन अलीले पनि एक–एक विकेट बटुले।
प्रत्युत्तरमा भारतले सुरुवातमै आफ्नो तीब्र बलर भुवनेश्वर कुमारलाई गुमाएको थियो। उनी २ दशमलव ४ ओभर बलिङ गर्ने क्रममा ‘ह्यामिस्ट्रिङ’ को समस्याका कारण मैदानबाट बाहिरिएका थिए। उनको स्थानका दिनेश कार्तिकलाई फिल्डिङमा बोलाइएको थियो।
भुवनेश्वर ‘ह्यामिस्ट्रिङ’ बाट बाहिरिनु भारतका लागि शुभ सावित भयो। विश्व कपको पहिलो खेल खेलिरहेका शंकर भुवनेश्वरको २ बल पुरा गर्न बलिङ लाइन–अपमा समावेश भएका थिए। उनले पहिलो बलमै इमाम–उल–हकलाई एलबिडब्लुको धरापमा पार्दै भारतलाई पहिलो सफलता दिलाए।
यसपछि बाबर आजम र फकर जमानले दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै पाकिस्तानलाई बलियो अवस्थामा पुर्याएका थिए। तर, कुलदीपको ‘टर्निङ’ बलमा बाबर ४८ रन बनाएर बोल्ड तथा ६२ रन बनाएर फकर क्याच आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो।
लगत्तै बलिङ गर्न फर्किएका हार्दिक पाण्ड्याले लगातार दुई बलमा मोहम्मद हाफिज (९) र सोहेब मलिक (०) लाई आउट गरेपछि पाकिस्तानको हातबाट खेल छुटेको थियो। सोहेब डक आउट भए।
उनी प्ले–डाउन भएका थिए। कप्तान सरफराज अहमदलाई पनि शंकरले प्ले–डाउन नै गरेका थिए। सरफराज १२ रनमा आउट भए। २३ ओभरमा १ सय १७ रन बनाएर एक विकेट मात्र गुमाएको पाकिस्तानले १२ ओभरभित्र ५ विकेट गुमाएको थियो।
पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाउदा पानी परेको थियो। पाकिस्तानका लागि पुछारमा इमाद वासिम र सद्धाव खानले अविजित रहँदै क्रमशः ४६ र २० रन बनाए।
खेलको म्यान अफ दि म्याच रोहित शर्मालाई घोषणा गरिएको थियो। यो उनको दोस्रो म्यान अफ दि म्याच पनि थियो।