विश्व कपमा सेमिफाइनलको समिकरणलाई जीवित राख्न दक्षिण अफ्रिका र पाकिस्तान आइतबार लर्ड्स मैदानमा भिड्दैछन्। दुवै टोली ३ अंकका साथ अंक तालिकाको ८ र ९ स्थानमा छन्।
पाकिस्तान ५ मध्ये १ खेलमा जित निकाल्दै अंक तालिकाको नवौं स्थानमा छ। अफ्रिकाले ६ खेल खेलेको छ र उसले पनि १ खेल मात्र जितेको छ।
विश्व कपमा अफ्रिकाको प्रदर्शन राम्रो मानिन्छ। दुई टिमबीच हालसम्म भएको ४ भिड्न्तमा अफ्रिकाले ३ मा जित निकालेको छ। पाकिस्तानले पछिल्लो विश्व कपमा अफ्रिकालाई हराएको थियो।
दुई वर्षअघि च्याम्पियन्स ट्रफीमा पनि पाकिस्तानले अफ्रिकालाई निरास तुल्याएको थियो।
अफ्रिका र पाकिस्तानले हालसम्म ७८ एकदिवसीय खेलेका छन्। जसमा अफ्रिका ५० खेलमा विजयी भएको छ। पाकिस्तानले २७ खेल जितेको थियो।
दक्षिण अफ्रिकाले यो विश्व कपमा सोचेजस्तो प्रदर्शन गर्न सकेको छ्रैन। ब्याट्सम्यानमा क्विन्टन डिकोकबाहेक सबैले निरास बनाएका छन्। डिकोकले ६ खेलमा ३८ दशमलव २० को औसतले १ सय ९१ रन बनाएका छन्। रसी वान डर डुसेनले पनि ४ इनिङमा ६० को औसतले १ सय ८० रन बनाएका छन्। हासिम अमला फर्ममा देखिदैनन्।
बलिङमा पनि ४० वर्षका इमरान ताहिरबाहेक अन्य बलरले खासै राम्रो प्रदर्शन गर्न सकेका छ्र्रैनन्। ताहिरले ५ खेलमा ८ विकेट लिएका छन्।
पाकिस्तानको प्रदर्शन पनि सोचेजस्तो हुन सकेको छैन। प्रतियोगितामा बाबर आजमले सर्वाधिक १ सय ६३ रन बनाएका छन्। अन्य ब्याट्सम्यानले क्षमताअनुसार प्रदर्शन गर्न सकेका छ्रैनन्।
बलिङमा मोहम्मद आमिर प्रभावशाली देखिन्छन्। उनकै प्रदर्शनको बलमा पाकिस्तानले जितको आधार खोजिरहेको छ। उनले ४ खेलमा १३ विकेट लिइसकेका छन्।