दक्षिण अफ्रिका पनि विश्व कपबाट बाहिरियो, पाकिस्तानसँग ४९ रनले पराजित

Agency

अभागी टिमको उपमा पाएको दक्षिण अफ्रिका विश्व कपबाट बाहिरिने दोस्रो टिम बनेको छ। यसअघि अफगानिस्तान सेमिफाइनल दौडबाट बाहिरिएको थियो।

पाकिस्तानविरूद्ध आइतबार लर्ड्समा सम्पन्न खेलमा ४९ रनले पराजित भएपछि अफ्रिका प्रतियोगिताबाट बाहिरिएको हो।

अफ्रिकाको यो सातौं खेल थियो र उसले पाँचौं खेलमा पराजय भोगेको छ। अफ्रिकाको अंक तालिकामा ३ अंक मात्र छ। अब उसले २ खेल खेल्न मात्र बाँकी छ। दुई खेलबाट ४ अंक जोडेपनि अफ्रिका शीर्ष ४ स्थानमा पुग्ने सम्भावना छैन।

अफ्रिकाको पराजयमा पहिले पाकिस्तानी ब्याट्सम्यान र यसपछि बलर हावी भए। पहिलो पल्ट मौका पाएका हरिश सोहेलले उत्कृष्ट ब्याटिङ गरे। तीब्र बलर मोहम्मद आमिर, वहाब रियाज र स्पिनर सद्धाव खानको प्रदर्शनले पनि अफ्रिका दबावमा देखियो।

पाकिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनाएको थियो। प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा २ सय ५९ रन मात्र बनाउन सफल भयो।

अफ्रिकी ब्याट्सम्यानलाई दबावमा राख्न आमिरले ४९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। यस्तै, सद्धाव र वहाबले ३–३ विकेट बाँडे।

फर्मबाहिर रहेका प्रारम्भिक ब्याट्सम्यान हासिम अमलाले आइतबारको खेलमा पनि अफ्रिकी टिमलाई निरास पारे। उनी २ रनमै आमिरको बलमा एलबिडब्लु भएर पवेलियन फर्किए।

कप्तान फाफ डुप्लिसी र क्वान्टन डिककले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै अफ्रिकालाई बलियो स्थितिमा पुर्याएका थिए। तर, डिकक सद्धावको बलमा क्याच आउट हुनु र कप्तान डुप्लिसी पनि ६३ रन बनाएर आमिरको बलमा पवेलियन फर्किनुले अफ्रिकाको इनिङ धरासायी बन्न पुग्यो। मध्यक्रममा रोसी भान डेर डुसेन र डेभिड मिलरले क्रमशः ३६ र ३१ रन बनाउँदै टिमलाई जिततर्फ फर्काउने प्रयास गरेका थिए। फेलुकवेओले ३२ बलमा अविजित रहँदै ४६ रन बनाए।

यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि सोहेलले ३ छक्का र ९ चौकाको सहयोगले ५९ बलमा ८९ रन बनाएका थिए। पाकिस्तानले आज टिममा दुई खेलाडी परिवर्तन गरेको थियो। सोहेब मलिक र हसन अलीको स्थानमा आज सोहेल र साहिद अफ्रिदीलाई मौका दिइएको थियो।

इमाम–उल हक र फकर जमानले पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए। उनीहरूले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे। दुवैले ४४–४४ रन बनाए।

बाबर आजमले पनि ६९ रन बनाए। मोहम्मद हाफिज र इमाद वासिमले क्रमशः २० र २३ रन बनाएका थिए।

पाकिस्तानले ६ खेलमा २ जित निकाल्दै सेमिफाइनल यात्रालाई जिवित राखेको छ। पाकिस्तानको अंक तालिकामा ५ अंक भएको छ। उसले अझै तीन खेल खेल्न बाँकी छ।
खेलको ‘म्यान अफ दि म्याच’ सोहेल घोषित भए।

प्रकाशित मिति: : 2019-06-23 23:35:18

प्रतिकृया दिनुहोस्