८३ रनमा ५ विकेट गुमाएको न्युजिल्यान्डका लागि छैटौं विकेटमा कोलिन डे ग्रान्डहोम र जेम्स निसमले १ सय ३२ रनको साझेदारी गरेपछि पाकिस्तानविरूद्ध किवी टोली सम्हालिएको छ।
३२ वर्षदेखि विश्व कपमा पाकिस्तानलाई जित्न नसकेको किवीले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ३७ रन बनायो।
पाकिस्तानका लागि युवा बलर साहिन अफ्रिदी घातक बलिङ गरे। उनले १० ओभरमा ३ मेडनसहित २८ रन मात्र खर्चेर ब्ल्याक क्याम्पसको ३ महत्वपूर्ण विकेट लिए।
स्पिनर सद्धाव खानले कप्तान केन विलियम्सनको महत्वपूर्ण विकेट लिए। अर्को विकेट मोहम्मद आमिरले लिए।
न्युजिल्यान्डले ८३ रन बनाउँदा मार्टिन गुप्टिल (५), कोलिन मुनरो (१२), कप्तान विलियम्सन (४१), रोस टेलर (३) र टम लाथम (१) आउट भएका थिए।
निसमले अविजित रहँदै ३ छक्का र ५ चौकाको सहयोगले ९७ रन बनाए। ग्रान्डहोमले रन आउट हुनुअघि ६४ रन बनाएका थिए।