कप्तान जासोन होल्डर र केमर रोचको बलिङ अगाडि असहज महसुस गरेको भारतीय ब्याट्सम्यानले विहिबार विश्व कपको आफ्नो छैटौं खेलमा वेष्ट इन्डिजलाई २ सय ६९ रनको चुनौति पेश गरेको छ।
बर्मिङ्घम मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको भारतको सुरुवात राम्रो हुन सकेन। उसले ७ विकेटको क्षतिमा २ सय ६८ रन बनायो। प्रारम्भिक ब्याट्सम्यान १८ र केएल राहुल ४८ रन बनाउँदै आउट भएपछि भारतले एक सय रन पुरा नगर्दै २ विकेट गुमाएको थियो। कप्तान विराट कोहलीको ७२ रनको अर्धसतकीय इनिङका कारण भारतले स्कोर बोर्डमा केही रन जोडेको थियो।
मध्यक्रममा महेन्द्रसिंह धानी र हार्दिक पाण्ड्याले छैटौं विकेटका लागि १० ओभरभित्र ७० रनको साझेदारी नगरेको भए भारतलाई २ सय रनको योगफल पुर्याउन पनि धौ–धौ पर्ने थियो।
पाण्ड्या ४८ रन बनाएर आउट भए। धोनीले मध्यक्रममा जुझारु इनिङ खेल्दै अविजित ५६ रन बनाए। उनले यतिबेला २ छक्का पनि प्रहार गरेका थिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका विजय शंकरले आज पनि निरास पारे। उनले १३ रन मात्र बनाए। केदार जाधव पनि ७ रनमा आउट भए।
रोचले १० ओभरमा ३६ रन खर्चेर ३ तथा होल्डरले ३३ रन खर्चेर लिएको २ विकेटका कारण भारतीय ब्याट्सम्यान दबाबमा देखिन्थे। अन्त्यमा शेल्डन कोट्रेलले पनि ५० रन खर्चेर २ विकेट लिएका थिए।