दुई पल्टको विश्व च्याम्पियन वेष्ट इन्डिज विश्व कपको सेमिफाइनल अभियानबाट बाहिरिएको छ।
विहिबार भारतविरूद्ध सातौ खेल १ सय २५ रनले गुमाएपछि वेष्ट इन्डिज राउन्ड रबिनअन्तर्गत २ खेल खेल्न बाँकी रहँदै विश्व कपबाट बाहिरिएको हो।
भारतको यो लगातार पाँचौ विजय हो। भारत ६ खेलमा अपराजित छ। एउटा खेल बर्षाका कारण रद्द भएको थियो।
भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो। प्रत्युत्तरमा मोहम्मद सामीको उत्कृष्ट बलिङको अगाडि घुँडा टेकेको क्यारेबियन टोली ३४ दशमलव ४ ओभरमा १ सय ४३ रन बनाउँदै खुम्चिन पुग्यो।
वेष्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान सुनिल आम्ब्रिसले सर्वाधिक ३१ रन बनाए। स्टार ब्याट्सम्यान क्रिस गेल ६ रनमै मोहम्मद सामीको शिकार भएपछि वेष्ट इन्डिज कुनै पनि बेला खुल्न सकेन।
निकोलस पुरनले २८ रन बनाए। सामीले ६ दशमलव ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। अघिल्लो खेलमा पनि उनले अन्तिम ओभरमा ह्याट्रिक लिएका थिए।
जसप्रीत बुमराहले पनि ६ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए। यजुवेन्द्र चहलले पनि २ विकेट लिए। कुलदीप यादव र हार्दिक पाण्ड्याको नाममा १–१ विकेट रहयो।
यसअघि पहिलो ब्याटिङ गरेको भारतको सुरुवात राम्रो भएन। रोहित शर्मा १८ रनमै आउट भए। कप्तान विराट कोहलीले ७२ रन बनाउँदै भारतलाई मजबुत सुरुवात दिने प्रयास गरेका थिए। उनलाई ‘म्यान अफ दि म्याच’ पनि घोषित गरिएको थियो। उनको यो विश्व कपमा चौथो अर्धसतक थियो।
केएल राहुलले ४८ रन बनाए। पूर्व कप्तान महेन्द्रसिंह धोनीले मध्यक्रममा ५६ रन बनाएका थिए। उनले हार्दिक पाण्ड्यासँग मिलेर छैटौं विकेटका लागि ७० रनको साझेदारी गरेका थिए। पाण्ड्याले ४६ रन बनाए।
भारतले छैटौं खेलबाट ११ अंक बटुलेको छ।