विश्व कपको सेमिफाइनलमा प्रवेश गर्न पाकिस्तानले ३ सयभन्दा बढी योगफलले बंगलादेशलाई पराजित गर्नुपर्ने बाध्यता छ।
शुक्रबार क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा बंगलादेशसँग टस हारेको खण्डमा पनि पाकिस्तान विश्व कपको सेमिफाइनल समिकरणबाट बाहिरिने छ। त्यसैले आज पाकिस्तानका लागि पहिले टस महत्वपूर्ण रहने छ। यसपछि बंगलादेशलाई ३ सयभन्दा बढी रनले हराउनु पर्ने बाध्यता छ।
पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ३ सय ५० रन बनाएको खण्डमा सेमिफाइनल पुग्न बंगलादेशलाई ३ सय ११ रनको फराकिलो अन्तरले पराजित गर्नुपर्ने छ।
यस्तै, ४ सय रनको लक्ष्य निर्धारण गरेको खण्डमा ३ सय १६ रनको जित निकाल्नु पर्नेछ।
बंगलादेश र पाकिस्तानको विगतको खेलको तुलना गर्दा पाकिस्तान कुनै जादु भयो भने मात्र सेमिफाइनल पुग्ने छ।
पाकिस्तान र बंगलादेश इंग्लिस मैदानमा २० वर्षपछि दोस्रो पल्ट भिड्न लागेका हुन्। सन् १९९९ मा इंग्ल्यान्डको नर्थहाम्पटनमा भएको खेलमा पाकिस्तानलाई ६२ रनले बंगलादेशले पराजित गरेको थियो।
आजको खेल पाकिस्तानका लागि दुई दशकअघि भोगेको पराजयको बदला लिनु पनि हुनेछ। पाकिस्तानी टोली पछिल्लो ४ खेलमा बंगलादेशसँग पराजित भइसकेको छ। हाल पाकिस्तान ८ खेलमा ४ जितका साथ ९ अंक बटुलेर अंक तालिकाको पाँचौ स्थानमा छ।
आजको खेलमा बंगलादेशलाई पराजित गरेको खण्डमा पाकिस्तानले ९ खेलबाट ११ अंक जोड्ने छ, जुन चौथो नम्बरमा रहेको न्युजिल्यान्डको बराबरी हुनेछ। तर, न्युजिल्यान्ड नेट रनरेटमा पाकिस्तानभन्दा धेरै माथि छ। त्यसैले पाकिस्तानको सेमिफाइनल प्रवेश गर्ने सम्भावना निकै कम छ।