अष्ट्रेलियाको एआईबिटी इन्टरनेसनल कलेजको खारेजी फिर्ता

इन्टरनेसनल इन्सिच्यूट अफ विजनेश एण्ड टेक्नोलोजी इन्टरनेसनल प्रा.लि. (एआईबिटी इन्टरनेशनल) कलेज

करिब एक हजार नेपाली विद्यार्थी अध्ययनरत अष्ट्रेलियाको इन्टरनेसनल इन्सिच्यूट अफ विजनेश एण्ड टेक्नोलोजी इन्टरनेसनल प्रा.लि. (एआईबिटी इन्टरनेशनल) कलेजको खारेजी फिर्ता भएको छ। अस्ट्रेलियन स्कील क्वालिटी अथोरिटी (आस्क्वा) कलेज खारेज गर्ने आफ्नो निर्णमा पुनर्विचार गर्ने भएपछि कलेज खारेजी फिर्ता भएको हो ।

गत मंगलबार अस्ट्रेलियन स्कील क्वालिटी अथोरिटी (आस्क्वा) ले कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको थियो। आस्क्वाको खारेजी निर्णयविरूद्ध कलेज प्रशासन संघीय अदालतमा जाने योजना गरिरहेको थियो। 

यही बिचमा आस्क्वाले आफ्नो निर्णयमाथि पुनर्विचार गर्दै खारेजी फिर्ता लिएको हो।

आस्वक्वाको पछिल्लो निर्णयसँगै एआइबिटी इन्टरनेसनलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसले विद्यार्थीमा सकारात्मक सन्देश गएको बताएको छ।

अस्ट्रेलियन सरकारको शैक्षिक निकायमाथि खारेजीसम्मको निर्णय गरे पनि यहाँको कानुनमा सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्न पाउने अधिकार हुन्छ।

काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सीसा) का अध्यक्ष विजय सापकोटा भन्छन्- ' यसरी पटक/पटक बाक्लो संख्यामा नेपाली विद्यार्थी रहेको कलेजहरूको दर्ता खारेजीले विद्यार्थीको शैक्षिक सोच र मनोविज्ञानमा प्रभाव पर्छ।अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक गन्तव्य बनेको अस्ट्रेलियामा यी र यस्ता गतिविधिले नकारात्मक प्रभाव पर्ने भएकाले सम्बन्धित निकायले यसतर्फ उचित ध्यान दिनुपर्ने हुन्छ।'

यसअघि पनि तीन महिनाअघि एउटै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।

एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन् ।

यतिबेला अस्ट्रेलियाका विभिन्न कलेजमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइन्छ । 

 

 

प्रकाशित मिति: : 2019-06-06 00:45:49

प्रतिकृया दिनुहोस्