एनआरएन अमेरिकाको सदस्य संख्यामा एक-तिहाई कमी

एनआरएन अमेरिकामा

अमेरिकामा गैरआवासीय नेपाली संघको सदस्यता लिने नेपालीको संख्या नौहजार दुईसय २८ पुगेको छ। यो संख्यामध्ये साधारण सदस्य संख्या आठहजार एकसय ५१ रहेको छ भने आजीवन सदस्य संख्या एकहजार ६७ रहेको छ। 

संघको सदस्यता प्रमाणिकरण समितिले पहिलो चरणमा आठहजार एकसय ५१ साधारण सदस्य संख्या सार्वजनिक गरेको थियो।त्यसपछि आजीवन सदस्य प्रमाणिकरण गरी एकहजार ६७ सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको हो। 

सदस्यता प्रमाणिकरण समितिले उपलव्ध गराएको संख्याअनुसार यसपटक सबैभन्दा बढी सदस्य हुने पाँच राज्यमा क्रमश: न्युयोर्क, टेक्सास, मेरिल्याण्ड र क्यालिफोर्निया रहेका छन्। यी चार राज्यमा आधाभन्दा बढी सदस्य संख्या रहेको छ।

यसपटक अमेरिकामा २० राज्यमा एनआरएन च्याप्टर गठन हुने संख्या पुगेको छ । विधानत: एकसयभन्दा बढी साधारण सदस्य भएमा च्याप्टर गठन गर्न सकिन्छ। 

गैरआवासीय नेपाली संघ अमेरिकाको राष्ट्रिय संयोजन समितिको चुनावी प्रयोजनका लागि मतदाताको संख्या हो यो संख्या। यही संख्याले आगामी मे महिनामा हुने निर्वाचनमा नेतृत्वको छिनोफानो गर्नेछ।

निर्वाचन प्रयोजनका लागि विश्व वराल प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा वासु फुलारा, हेमराज भट्ट, कुलमणि आचार्य र खड्ग उप्रेती रहेका छन्। 

यही समितिले एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनका लागि निर्वाचन गराउँने छ। 

निर्वाचनको मिति घोषणा नभए पनि उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। उम्मेद्वारहरूको संख्या र उनीहरूको फेसबुक चर्चा हेर्दा एनआरएन अमेरिकामा नमुना चुनाव हुने अनुमान गर्न सकिन्छ। 

प्रकाशित मिति: : 2019-03-21 18:13:08

प्रतिकृया दिनुहोस्