न्युयोर्कमा नेपाल डे परेड आयोजना : कम सहभागिता, मात्र औपचारिकता

नेताहरू झगडा गरे पनि हामी चाँहि आयौं है: न्युयोर्कको नेपाल डे परेडमा सहभागीहरू । तस्विर : सुदर्शन गुनी

अमेरिकाको न्युयोर्क सहरको म्यानहट्टनमा नेपाल डे परेड २०१९ आयोजना गरिएको छ। म्याडिसनस्थित थर्टिएट स्ट्रिटबाट दिउँसो १ बजे शुरु भएको नेपाल डे परेड सहभागिता र भव्यताका हिसाबले दुब्लाएको प्रष्टै देखिन्थ्यो। 

परेडमा आफ्ना नानीबाबुलाई नेपाली पहिरनमा सहभागी गराएकी एक आमा भन्दै थिइन्- 'कम्तिमा पचास हजार नेपाली भएको न्युयोर्कमा एकहजारको पनि सहभागिता छैन। यसले नेपालीबीच कमजोर एकता र मर्दै ग्एको नेपालीपनको संकेत गर्छ।' 

नेपालको गणतन्त्र दिवस, बुुद्ध जयन्ती र माउन्ट एभरेष्ट डे को अवसर पारेर हरेक वर्ष मे १९ दिन नेपाल डे परेड आयोजना गरिदै आएको छ। 

न्युयोर्क र आसपासका नेपाली मिलेर ठुलो उत्साहका साथ चार वर्षअघि सुरू भएको नेपाल डे परेड सुरूको वर्ष नेपाल आदिबासी जनजाति महासंघसहितका स्थानीय नेपाली संघ संस्थाको सहआयोजनामा झकिझकाउ र रंगिन थियो तर वितेका दुई वर्ष यसको आयोजना एक कम्पनीले गर्न थालेपछि विवादित हुन पुग्यो र यो क्रमश: रंगहिन बन्दै गएको हो।

यस वर्षको आयोजनालाई सबैको बनाउँने प्रयत्न गरिए पनि नेपाल आदिबासी जनजाति महासंघको आन्तरिक राजनीतिको प्रभावबाट यसलाई जोगाउन सकिएन। आयोजनाका लागि कम्पनी बाहिरबाट संयोजक बनाइए पनि त्यसको खासै सकारात्मक प्रभाव देखिएन। आदिबासी जनजाति महासंघ र यसअन्तर्गतका जातीय संघ संस्थाहरूको सहभागिता विनाको यसपटकको आयोजना पनि भव्य देखिएन। 

सहभागिता त कम थियो नै जातिय झाँकीहरूको अभावमा सिंगो नेपालको प्रतिनिधित्व पनि देखिएन।

एनआरएन अमेरिकाको चुनाव भैरहेकाले पनि यो आयोजना यसपटक थप छायाँमा पर्यो। 

अमेरिकाको नेपाली डायस्पोराका संघ संस्थाहरू समाजलाई जोड्नेभन्दा पनि तोड्नेमा लागिरहेको प्रमाण न्युयोर्कको नेपाल डे परेड हुँदै आएको छ। यसपटक त पोहोरको भन्दा राम्रो होला भनेको उल्टै पोहोर जतिको पनि भएन। न्युयोर्कस्थित महावाणिज्यदूतावास र एनआरएन एनसीसीको सहयोगसाथ आयोजना गरिएको भनिएको त्यसको प्रभाव कतै देखिएन। यसको कारणका बारेमा जानकारहरू भन्छन्- यो मूलत: नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका बर्तमान अध्यक्ष ममानबहादुर रानामगर र निवर्तमान अध्यक्ष लुइसाङ वाइवाको जुंगाको लडाइँको परिणाम हो।'

 

 

 

प्रकाशित मिति: : 2019-05-20 04:03:47

प्रतिकृया दिनुहोस्