राष्ट्रपति ट्रम्पको 'सन' अन्तर्वार्ताले निम्त्यायो विवाद: बेलायत पुग्दा चिसो स्वागत !

राजपरिवारकी सदस्यलाई नास्टी भनेपछि कसरी पाइएला र न्यानो स्वागत ? तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सोमबार युरोप भ्रमणमा निस्कदैछन्। बेलायतबाट सुरू हुने यो भ्रमणका क्रममा उनी बेलायतपछि फ्रान्स र आयरल्याण्ड जाने कार्यक्रम रहेको छ।

बेलायतमा तीन दिन रहने ट्रम्पले भ्रमणको पूर्वसन्ध्यामा बेलायती ट्याव्लोयड द सनलाई एक अन्तर्वार्ता दिएका छन्। त्यो अन्तर्वार्तामा व्यक्त गरेका केही भनाइका कारण उनको यो भ्रमण विवादमा परेको छ। 

खासगरी उनले बेलायतका दुई गम्भीर विषयमा राखेका धारणाका कारण बेलायतीहरू रूष्ट देखिएका छन्। 

पहिलो - डोनल्ड ट्रम्पले बेलायती राजकुमारी मेघन मर्केललाई नास्टी (खराब) भनेका छन्। पूर्वअमेरिकी नागरिक रहेकी मेघन मर्केल अमेरिकामा रहदा ट्रम्प नीतिको विरोधमा थिइन्। एक कलाकार तथा नागरिक अधिकारकर्मीका रूपमा परिचित मेघनको सोच ट्रम्पको सोचभन्दा फरक थियो। शायद त्यही कारणले हुन सक्छ, ट्रम्पले बेलायती महारानीकी नातिनी बुहारी मेघनलाई नास्टी भनिदिए। 

बेलायतीहरू राजपरिवारका सदस्यका बारेमा गरिने कुनै पनि किसिमका भद्दा टिप्पणीहरू सुन्न चाहदैनन्। त्यसमा पनि विदेशीले गर्ने टिप्पणीको त कुरै भएन।

दोस्रो- डोनल्ड ट्रम्पले बेलायतको सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेताका लागि बोरिस जोन्सनको नाम इण्डोर्समेन्ट गरे। उनले ‘मेरो विचारमा बोरिसले निकै राम्रो काम गर्ने छन्’ भन्दै अगाडि भनेका छन्- ‘मैले चाहे भने जसलाई पनि समर्थन गर्न सक्छु।’ 

बेलायतमा सत्तारूढ दलको नेता नै प्रधानमन्त्री हुने संवैधानिक प्रावधान भएकाले अहिले कन्जरभेटिभ पार्टीको नेता नै त्यहाँ प्रधानमन्त्री हुने अवस्था छ। ब्रेक्जिटका कारण बर्तमान बेलायती प्रधानमन्त्री थेरेसा मे ले यही जुन ७ देखि लागू हुने गरी राजीनामा दिने घोषणा गरेकी छिन्। उनकै उत्तराधिकारी हुन पाँजना टोरी नेताहरू मैदानमा उत्रिएका छन्। बोरिस जोन्सन तिनैमध्येका एक हुन्। केही समयअघिसम्म उनी मे मन्त्रिमण्डलमा विदेशमन्त्री थिए। ब्रेक्जिटकै सम्बन्धमा मेसँग मत बाँझिएपछि राजिनामा दिएर उनी बाहिरिएका थिए।

बेलायतीहरूले राष्ट्रपति ट्रम्पको यो भनाइ पनि पटक्कै मन पराएका छैनन्। उनीहरूले यसलाई आफ्नो आन्तरिक मामलामा हस्तक्षेपको रूपमा बुझेका छन्। 

यसरी भ्रमणको पूर्वसन्ध्यामा दिएको अन्तर्वार्ताक कारण विवादमा परेका ट्रम्पको बेलायतमा न्यानो स्वागत हुने सम्भावना पातलिएको छ। राजकीय भ्रमण भएकाले औपचारिक रूपमा त उनको स्वागत सत्कार हुने नै छ। तर, जनस्तरबाट भने उनले चिसो स्वागत पाउँने सम्भावना बढेको छ। 

 

प्रकाशित मिति: : 2019-06-03 05:47:09

प्रतिकृया दिनुहोस्