अलविदा एन्जी-ओस्कार, अब तिमीहरू कहिल्यै अमेरिका पुग्दैनौं !

बाबु ओस्कार अल्बर्टो मार्टिनेज र २३ महिनाकी छोरी एन्जी भलरियाको हृदयविदारक अन्त्य । तस्बिर : जुलिया ।

अमेरिका-मेक्सिको सीमास्थित रियो ग्रान्डे नदी किनारको दृश्य हो यो । यो हृदय विदारक तस्बिरमा देखिएका बाबु छोरी हुन् । २५ वर्षे बाबु ओस्कार अल्बर्टो मार्टिनेज र उनकी २३ महिनाकी छोरी एन्जी भलरिया । सान मार्टिन एल साल्भाडोरका उनीहरूको गन्तव्य अमेरिका थियो। तर, उनीहरू रियो ग्रान्डेमै यो दशामा भेटिए । नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। एन्जीकी आमा तानिया भनिसा पनि उनीहरूसँगै थिइन् । तर, उनी जिउँदै छिन् कि उनको पनि यही हालत भयो- केही भन्न सकिने स्थिति छैन । तर, नदीको अवस्था हेर्दा उनी पनि यो संसारमा छिन् जस्तो देखिदैन ।

अब यिनीहरूको न सपना रह्यो, न ज्यान । उनीहरू दुबैको ज्यान पनि गयो, सपना त रहने कुरै भएन । उता, सान मार्टिन एल साल्भाडोरमा एन्जीकी हजुरआमा रोजा आफ्नी नातिनिका केही खेलौना देखाउँदै रोइरहेकी छिन् । विक्षिईत अवस्थामा उनी सोध्छिन्- अब कसले खेलाउने होला यी खेलौनाहरू ?

अमेरिकामा आप्रवासी समस्या मानवीय कोणबाट कति गम्भीर छ भन्ने अवस्थाको चित्रण गरिरहेको छ यो तस्बिर । स्वतन्त्रताकी लेवी स्ट्याच्यु अफ लिबर्टीलाई चुम्न र अवसरको देश अमेरिकामा समृद्धि पाउँन दक्षिण अमेरिकी महादेशबाट ल्याटिनोहरूको काराभान अमेरिकातिर बढेको बढै छ । यसले ल्याउने मानवीय विपत्तिबाट जोगाउन भन्दै अमेरिकी राष्ट्रपति ट्र्म्प उनीहरूलाई रोक्न हरेक उपाय अपनाइरहेका छन् ।

यसैबीच आएको यो हृदयविदारक तस्बिर र यसको समाचार अमेरिकाका मूलधारका मिडियाहरूले महत्वका साथ प्रकाशित गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि भाइरल भैरहेको छ यो तस्बिर ।

पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसलाई नयाँ कोण दिएको छ । तस्विरले आप्रवासीको अमेरिका यात्रा कति दर्दनाक छ भन्ने सत्य उजागर गरेको छ ।  

प्रकाशित मिति: : 2019-06-26 23:29:41

प्रतिकृया दिनुहोस्