नेपाली बसोबास गर्ने मेरिल्याण्डको कोलम्बियामा आइसको सम्भावित छापा

मेरिल्याण्डको कोलम्बियामा आइसको सम्भावित छापा । तस्बिर : फाइल तस्बिर ।

नेपालीहरूको पनि बाक्लो बसाोबास भएको अमेरिकाको मेरिल्याण्ड राज्यको कोलम्बियामा आइसले धरपकड गर्ने सूचना 'लिक' भएको छ ।

कोलम्बिया रहेको हावर्ड काउन्टी प्रहरीले सूचना बाहिर ल्याएको हो । हावर्ड काउन्टीका एक प्रहरी अधिकृतका अनुसार आइसका प्रतिनिधिले बुधबारविहान हावर्ड काउन्टी प्रहरीलाई धरपकड गर्न सघाउन आग्रह गरेका थिए । तर, उनीहरूले धरपकडमा संलग्न नहुने र कुनै सहयोग पनि नगर्ने बताए ।

यसैबीच, नेपालीमूलका मेरिल्याण्डका हाउस डेलिगेट ह्यारी भण्डारीले आफूले पनि विभिन्न स्रोतबाट त्यस्तो सूचना पाएको बताउँदै सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनले स्थानीय आप्रवासीलाई विना वारेन्ट घरभित्र प्रवेश गर्न नदिन, आइसले पक्राउ गरेमा मौन बस्न र अध्यागमन सेवा दिने हटलाइन नम्बरमा फोन गर्न आव्हान गरेका छन् । 

राष्ट्रपति ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावको उम्मेद्वारी घोषणा गर्ने पूर्वसन्ध्यामा यही आइतबारदेखि आइसले कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गरी देश निकाला गर्ने घोषणा गरेका थिए । उनले १० सहरमा छापा मारिने बताइएकोमा मेरिल्याण्ड पनि परेको थियो । तर, उनले गत शुक्रबार दुइ साताका लागि छापा मार्ने क्रम पछि सारेको घोषणा गरेका थिए । यद्यपि, विगत चार दिनमा आइसको नियमित कारबाहीका नाममा उत्तरी टेक्सास र ओक्लोहामाबाट ७५ जना आप्रवासी पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: : 2019-06-27 01:54:16

प्रतिकृया दिनुहोस्