तपाईको प्रमुख अतिथि को- विजय कि शेर ?

तपाईको प्रमुख अतिथि को- विजय कि शेर ? तस्बिर : गुगलका साथमा ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकाको नेपाली डायस्पोरामा यसपटकको जुलाई ४ मा नेपाली कांग्रेसले बाजी मार्ने कि कांग्रेस इतरले ? प्रतिष्ठाको लडाईं जारी छ ।

कांग्रेसजनहरू शिकागोलाई किल्ला बनाएर गैरआवासीय नेपाली संघ अमेरिकाको आठौ साधारणसभा जसरी पनि सफल पार्ने रणनीतिमा लागेका छन् भने कांग्रेसइतहरू बाल्टिमोरलाई किल्ला बनाएर शिकागोलाई कोरम पनि नपुर्याएर असफल बनाउने रणनीतिमा नेपाली नेशनल कन्भेन्सन २०१९ लाई सफल बनाउन लागेका छन् । केही सय संख्यामा यसरी भिडिरहे पनि बाँकि नेपालीमध्ये केही रमिता हेरिरहेका छन् भने धेरैजसो यी दुबै आयोजनासँग कुनै सरोकार नै राखिरहेका छैनन् । यी दुबै किल्लामा रहेका परस्पर इतर पक्ष भने विभिषणको भूमिकामा 'लोकल प्रोक्सिमिटी' देखाउन विवश छन् ।

अमेरिकी नेपाली डायस्पोराका यी जम्बोरीहरू समाचारको कोणबाट हेर्दा 'स्युडो इभेन्ट' मात्र हुन् । यिनीहरूले त्तकालका लागि गर्ने भनेको फोटो खिचेर फेसबुकमा अपलोड गर्ने अवसर प्रदान गर्ने, लाइक र कमेन्ट गर्ने मात्र हो । अबको साता अधिकांश अमेरिकाबासी नेपाली फेसबुके सेलिब्रेटीहरूको फेसबुक यिनै दुई जम्बोरीसँग सम्बन्धित स्टाटस र फोटाले भरिनेछन् । 

यी दुई आयोजना अरू धेरै कारणले चर्चामा भए पनि चर्चाको एउटा कोण यिनीहरूको प्रमुख अतिथिको चयन पनि हो । जसको कारण पनि यी दुई आयोजना बढी राजनीतिक रंगमा रंगिएर जुङाको लडाईंको कारण बने । 

यसको सुरूवात एनआरएन अमेरिकाले गर्यो । केही समयअघि भएको चुनावले चुनेको कार्यसमितिमा मात्र हैन, अहिले मौजुदा कार्यसमितिमा पनि हाकाहाकी कांग्रेस हौ भनेर जितेकाकै कब्जा छ । उनीहरू हाकाहाकी नै एनआरएन कब्जा गर्ने भन्छन् र त्यही रणनीतिमा जे पनि गर्न तयार हुन्छन् । त्यही रणनीतिको एक अंशका रूपमा उनीहरूले एनआरएनसँग कुनै साइनो नै नभएका कांग्रेस उपसभापति विजय गच्छेदारलाई प्रमुख अतिथिको रूपमा घोषणा गरे । बाँकि निम्तालुहरू पनि कांग्रेस नै रहे । यसबाट एनआरएनमा रहेका कांग्रेस इतरलाई थप पीडा भयो । उनीहरूलाई लाग्यो, यस्तो एकांकी नेतृत्व रहेको संस्थामा रहेर के गर्ने ? त्यसैले एन्आरएनको शिकागो साधारणसभा सफल पार्न उनीहरूलाई अल्छी लाग्न थाल्यो। 

उता, बाल्टिमोरमा आयोजना हुने नेपाली नेशनल कन्भेन्सन २०१९ ले पनि एनआरएनको शिकागो जम्बोरीलाई काउन्टर अट्याक दिदै नेपालको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई प्रमुख अतिथिको रूपमा निम्त्यायो । उनी सत्तारूढ नेकपाका केन्द्रीय सदस्य हुन् । यद्यपि उनीसँग मुख्यमन्त्रीको सरकारी पद पनि छ । 

अब प्रश्न उठ्छ ? कि दुबै प्रमुख अतिथि अहिले अमेरिकामा हुन लागेका कार्यक्रमका लागि उपयुक्त पात्र हुन् ? 

तटस्थ भएर भन्ने हो भने यी दुबै उपयुक्त पात्र हैनन् । यस्ता कार्यक्रममा राजनीतिक व्यक्तिलाई ल्याउनु नै  गलत हो । त्यसमा पनि यी दुबै पात्रको गैरआवासीय नेपालीसँग प्रत्यक्ष रूपमा कुनै साइनो नै छैन । न यिनीहरूसँग त्यसबारेमा कुनै गतिलो बाँड्नलायक ज्ञान नै छ । 

नेपालमा नेता हुनु, मन्त्री हुनु क्षमताले भन्दा पनि सिन्डिकेटले हुने हो । यिनीहरू दुबै सिन्डिकेटले भएका/ बनाएका मान्छे हुन् । गच्छेदार सिनियर भए पनि उनी नेपाली राजनीतिमा संस्थागत भ्रषटाचारका पर्याय हुन् । शेरधन त भोजपुरका अग्रज राईहरू अन्यत्र गएपछि विद्यादेवी भण्डारीको कोटामा उक्लदै त्यहाँ पुगेका हुन्। भण्डारी र ओलीको कृपा नहुने हो भने उनी बढी प्रदेशसभाका सदस्य हुने व्यक्ति हुन् । त्यत्रो राजनीतिक आशीर्वाद र आफ्नौ पार्टीको प्रचण्ड बहुमत हुँदा प्रदेशको नाम त राख्न सकेका छैनन्, त्यस्ताबाट के आश गर्ने ? 

यी दुबै प्रमुख अतिथि यसपटक गुयँलाका फूल मात्र हुन् । यिनीहरूको उपस्थितिबाट आयोजनाले कुनै गरीमा हासिल गर्न सक्दैन । 

तैपनि यतिबेला अमेरिकामा ठट्टैठट्टामा एउटा प्रश्न सोध्न थालिएको छ - यसपटकको जुलाई ४ मा तपाईको प्रमुख अतिथिचाँहि को हो ? 

 

प्रकाशित मिति: : 2019-07-02 10:37:11

प्रतिकृया दिनुहोस्