अमेरिकाको बाल्टिमोरमा तीनवटा प्रस्ताव पारित गर्दै नेपाली नेसनल कन्भेन्सन सम्पन्न

नेपाली नेसनल कन्भेन्सन २०१९ को एक झलक । तस्बिर : बीएल ।

अमेरिकाको बाल्टिमोरमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१९ सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । आयोजक एएनएका अध्यक्ष मेदिनी अधिकारीले ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै तीनवटा मूल एजेन्डामा सम्मेलन आयोजना गरिएकोमा तीनैवटा अनुमोदित भएको बताए । 

उनका अनुसार सम्मेलनले अमेरिकामा रहेका नेपाली संघ संस्थाहरूको महासंघ बनाउने एजेण्डा पारित गरेको छ । त्यसका लागि तदर्थ समिति बनाएर चाँडै नै घोषणा गरिने प्रक्रियामा रहेको एएनए अध्यक्ष अधिकारीले बताए ।

यसैगरी नेपाल सरकारले गठन गरेको ब्रेन गेन सेन्टरलाई एकद्वार प्रणालीमा विकसित गराएर त्यसका लागि सहकार्य गर्ने एजेण्डा पनि सम्मेलनले पारित गरेको छ । यसबाट नेपाली डायस्पोरामा रहेका नेपाली विज्ञहरूलाई राष्ट्रनिर्माणको अभियानमा सहभागी गराउन सकिने सम्मेलनले ठहर गरेको छ ।

यसैगरी सम्मेलनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा राष्ट्रको प्रविधिकरण गर्न सरकारसँग हातेमालो गर्ने निर्णय गरेको र त्यसका लागि प्रदेश नम्बर १ मा पाइलट प्रोजेक्ट अगाडि बढाउने निर्णय पनि सम्मेलनले गरेको छ । 

सम्मेलनमा राष्ट्र निर्माणमा नेपाली डायस्पोराको भूमिकामाथि एक महत्वपूर्ण फोरम सञ्चालन गरिएको थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले प्रमुख वक्ता रहेको फोरम राष्ट्र निर्माणमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने निष्कर्षमा पुगेको थियो । 

एएनएलाई संख्यामा भन्दा पनि गुणमा समयसापेक्ष किसिमले अगाडि बढाउने चरणमा रहेको एएनएको सम्मेलन त्यही कोणमा सफल भएको एएनए अध्यक्ष अधिकारीले बताए ।

एएनएलगायतका चार संस्था सहआयोजक रहेको सम्मेलनमा अरू आठ संस्था पनि आयोजनासँग जोडिएका थिए । जुलाई ५ देखि ७ सम्म जारी रहेको सम्मेलनको प्रमुख अतिथि नेपालको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई रहेका थिए । उनले एक समारोहबीच जुलाई ६ मा सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनमा सहभागी हुन अतिथिका रूपमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, नेपाली कांग्रेस नेता दीपक गिरीलगायतका केही स्थानीय नेताहरू पनि आएका थिए ।

सम्मेलनमा विभिन्न किसिमका ज्ञानवर्द्धक फोरम तथा मनोरञ्नात्मक कार्यक्रम आयोजना गरिएका थिए । सम्मेलनमा अमेरिकाका विभिन्न राज्य र क्यानडामा रहेका नेपाली डायस्पोराका प्रतिनिधिमुलक अगुवाको सहभागिता थियो । 

प्रकाशित मिति: : 2019-07-08 01:13:13

प्रतिकृया दिनुहोस्