टेम्पोचालिका भन्छिन्– ट्राफिकबाट मिठाे बाेली कहिल्यै सुन्न पाइनँ (भिडियाे)

यसबीच श्रीमानले दुईपल्ट वैदेशिक रोजगारीका लागि आवेदन दिएका थिए। तर, दुबैपल्ट श्रीमानको आवेदन फेल खाएपछि कृषा आफै दुबई जाने तयारीमा छिन्।

 आत्मनिर्भर महिलाकाे कथा—भाग १

कृषा गोले तामाङ, ३०। घर सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिका। तीन दाजु र दुई दिदीकी कान्छी बहिनी। कक्षा ८ मा अध्ययनरत रहँदै गर्दा उनले पढाईलाई विश्राम दिनु पर्‍यो। घरकी कान्छी भएको कारण घरमा उनले सबै कामकाज सम्हाल्नु पर्थ्याे। परिवार कृषि व्यवसायमा सलंग्न थियो। आमाबुवा दुबै बिहानैदेखि खेतीमा काम गर्ने। 

वास्तवमा गोले परिवारको गाउँमा राम्रै स्थिति थियो, खान–लगाउन। उनको दाजु ट्याक्सी चलाउँथे। उनले दाजुकै प्रेरणाले सानैमा ट्याक्सी चलाउन पनि सिकिसकेकी थिइन। लामो समय घरको काम गर्दा उनलाई झिझो पनि लाग्थ्याे। त्यसैले एकदिन उनले देशको राजधानी काठमाडौं जाने मन बनाइन्। उनलाई पहिले लागेको रहेछ, काठमाडौंमा सबै कुराको समाधान छ। ४० लाख मानिस अटाएको ठाउँमा आफू कसो नअटाउला? 

यही कल्पना बुनेर उनी २०५७ सालमा पहिलो पटक काठमाडौं प्रवेश गरिन्। तर, काठमाडौं उनले सोचे जस्तो शहर थिएन। मान्छेको भिड त थियो तर रोजगारीका लागि काम थिएन। धुइँपताल लाएर काम खोज्दा पनि उनले गतिलो काम पाइनन्। यसपछि दोलखाकी पवित्रा गुरुङको सहयोगमा टेम्पो चलाउन सिकिन। पवित्रा मनकारी थिइन। उनी विपन्न महिलालाई टेम्पो चलाउन सिकाउँथिन्। 

कृषामा काम गर्ने हुटहुटी थियो। नभन्दै उनले एक सातामै लाइसेन्स निकाल्न सफल भइन् र २०६६ सालमा टेम्पो चालिकाबाट आफ्नो करिअर सुरु गरिन्।

कामकै सिलसिलामा आफूसँग काम गर्ने थुप्रै महिला विदेश पलायन भए। उनीहरू टेलिफोनमा राम्रो कमाईं भएको सुनाउँथे। त्यसैले तीन वर्ष टेम्पो चलाएपछि उनको मन पनि वैदेशिक रोजगारीतर्फ मोडियो। २०६९ सालमा मलेसिया हानिइन्। 

यहाँ उनको जीवनले अर्को मोड लियो। श्रीमान सुशिल तामाङसँग मलेसियामै भेट भयो। सुशिल कृषाभन्दा दुई महिनाअघि मलेसिया उडेका थिए। कृषाको तलब राम्रो थियो। उनी महिनाकै ५० हजार रुपैयाँ कमाउँथिन्। पहिलो महिनाको तलब घर पठाउन बैंकतर्फ लाग्दै गर्दा उनको जम्काभेट सुशिलसँग भएको थियो। 

‘मलाई एटिएम चलाउन आउँदैन्थ्यो। उहाँले नै मलाई एटिएमबाट पैसा निकाल्ने तरिका सिकाइँदिनु भयो’, श्रीमानसँग भएको पहिलो भेटको कुरा सुनाउँदै उनले भनिन्, ‘वास्तवमा हाम्रो भेट ‘एक्स क्युज मी’ बाट सुरु भएको थियो। बिरानो देशमा मलाई उहाँभन्दा विश्वासिलो मानिस अरु कोही लागेन। भेट मायामा बदलियो। हामीले विवाह गर्ने निर्णय गर्यौं।’ 

करिब तीन वर्ष सुशिलसँग प्रेम सम्बन्धमा रहेपछि कृषाले परिवारको इच्छा बेगर नेपाल फर्किएर विवाह गरिन्। ‘श्रीमानको घर टाढा भएको भन्दै घरबाट कन्यादान गर्न मान्नु भएन। हामीले राजीखुसी विवाह गर्यौं। हाम्रो विवाह उहाँको घर भएको ठाउँ मोरङस्थित इटहरीमा २०७२ साल फागुन २४ मा भएको थियो’, कृषाले भनिन्। 

सुशिलको उमेर कृषाभन्दा ४ वर्ष कान्छो छ। उनी पनि दुई दाजु र दुई दिदीका कान्छा भाई हुन्। मलेसिया जानुअघि उनी काठमाडौंमा सुरक्षागार्डको रुपमा एउटा फर्ममा काम गर्थे। विवाहपछि उनीहरूले मलेसिया फर्किने योजना परित्याग गरे र काठमाडौंलाई नै आफ्नो गन्तब्य बनाए। 

काठमाडौं फर्किएलगत्तै कृषा आफ्नो पुरानो पेशा टेम्पोमा फर्किइन्। श्रीमान ज्याला मजदुरीमा। 

‘आर्थिक अवस्था राम्रो थियो। एक वर्षपछि छोरीको जन्म भयो,’ उनले विगत कोट्याइन्–‘एक दिन छोरीलाई आगोमा सेक्ने हुँदा आफैमाथि आगो सल्कियो। मेरो पुरै पाता जलेर सर्जरी गर्नुपर्ने अवस्था आयो।’

उपचारका लागि उनले दुई महिना अस्पतालमा बिताउनु पर्यो। ‘३ लाख रुपैयाँ खर्च भयो। २५ हजार त ऋण नै बोक्नु पर्यो’ उनले विगत सुनाइन्।

पहिले तामाङ परिवार जोरपाटीमा बस्थ्यो। अब कृषाले महाकांलमा डेरा सारिन्। जहाँ उनी टेम्पो हकाउने पेशा छोडेर धागोको डल्ला काट्थिन्। केही समय आफ्नो शरीरसँग लडेकी कृषाले सय केजीको ३५ सय रुपैयाँ मजदुरी नपाएपछि २०७४ सालमा पुनः टेम्पो चलाउने निधो गरिन्। 

‘म विरामी हुँदा लागेको ऋण हामीले काम गरेर तिरिसकेका छौं’, स्वावलम्बी कृषाले बिएल नेपाली सेवासँग भनिन्। 

हाल उनका श्रीमान सुशिल नगरपालिकामा बिल काट्ने काम गर्छन्, जो बिहान ५ बजे हिडेर ७ बजे साँझ घर फर्किन्छन्। कृषा आफ्नो ३ वर्षीय छोरीलाई बोकेर टेम्पो चलाउँछिन्। उनको योजना छ, यही बैशाखदेखि छोरीलाई स्कुल भर्ना गर्ने। ‘घरमा छोरीको हेरचाह गर्ने कोही छैन। त्यसैले सँगै लिएर हिड्छु,’ उनले दुःख पोखिन्। 

कृषालाई बिहानको खाना होटलमै खानुपर्ने बाध्यता छ। दिउँसो काम गर्ने क्रममा अन्य चालक–चालिकाले आफूलाई पेल्ने गरेकोमा उनी मन खिन्न बनाउँछिन्। भन्छिन्, ‘सबैको आफ्नै दुःख हुन्छ। अरुको पालो मिचेर यात्रु लैजान्छन्। यसले अस्वस्थ्य प्रतिस्पर्धा निम्ताएको छ,’ उनले भनिन्।

टेम्पो चलाउँदा कहिले काहीँ ट्राफिक प्रहरीबाट पनि दुःख पाउने गरेको उनले सुनाइन्। ‘कहिले काहीँ नियम नै तोडेको हुँदैन। चिट भिडाउन आउँछन्। दिनभरी लगाएर दुई छाँक खानाको पैसा उठेको हुन्छ। बिलको नाममा पैसा काटेर जान्छन्,’ उनले दुःखेसो पोखिन्–‘अर्को चित्त दुख्ने कुरा उनीहरू चालकलाई त भनेर सम्बोधन गर्छन।’ 

नेपाल प्रहरीको एउटा नारा निकै हिट छ–
‘जिब्रोको गरिमा, मिठो बोलिमा।’

तर, त्यो मिठो बोली आफूले ट्राफिक प्रहरीबाट सुन्न नपाएको गुनासो छ, उनको। उनी काम गरेर खाने व्यक्तिको नेपालमा सम्मान नहुने बताउँछिन्। ‘म इज्जत साथ काम गर्छु। मलाई टेम्पो चालिका भएकोमा गर्व नै छ। मासिक ३० हजार तलब हुन्छ,’ उनले भनिन्। 

काठमाडौंमा पछिल्लो समय मंहगी आकासिँएको उनको गुनासो छ। त्यसैले केही दिनयता पुनः वैदेशिक रोजगारीमा जाने तरखर गरिरहेकी छिन्। ‘के गर्नु छोरीलाई राम्रो शिक्षा दिलाउनु पनि छ,’ उनले बाध्यता सुनाइन्। 

यसबीच श्रीमानले दुई पल्ट वैदेशिक रोजगारीका लागि आवेदन दिएका थिए। तर, दुबैपल्ट श्रीमानको आवेदन फेल खाएपछि कृषा आफै दुबई जाने तयारीमा छिन्। ‘के गर्ने देशमा श्रमको सम्मान पनि हुँदैन। उचित मूल्य पनि पाइँदैन,’ उनले भनिन्। 


 
 

प्रकाशित मिति: Mar 02, 2020 21:37:37

प्रतिक्रिया दिनुहोस

सबै