अध्यक्षज्यू, अब त संखमुल पार्कको ५० हजार तिर्ने कि ?

एनआरएन अमेरिकाका अध्यक्ष सुनील साह : शंखमुल पार्कका ५० हजार नेपाली रूपैयाका ऋणी ।

एनआरएन अमेरिका र यसका नवनिर्वाचित अध्यक्ष सुनील साह एनआरएन ग्लोबलको एक मुख्य योजना संखमुल पार्कको ऋणी रहेको पाइएको छ । 

एनआरएन ग्लोबलको आधिकारिक वेभसाइट https://www.nrna.org/Our-Work/Mega-Projects/Sankhamul-Garden मा क्लिक गरेको केही सेकेण्डमै ७७ क्रमसंख्यामा एनसीसी युएसएको नाममा एक लाख रूपैया बाँकि देखिन्छ भने क्रमसंख्या ९२ मा सुनील साह ५० हजारका ऋणी देखिन्छन् । 

यसो त ऋणीमा एनआरएन अमेरिका र यसका अध्यक्ष मात्र छैनन्, अन्य दुइजना ठूला अमेरिकी एनआरएन अभियन्ताको नाम पनि ऋणीको सूचीमा भेटिन्छ । यी दुई मध्ये एक हुन् सोनाम लामा । लामाको नाममा पाँच लाख बाँकि देखिन्छ ।यसअघि उत्तर अमरिका क्षेत्रका क्षेत्रीय संयोजक रहेका लामा गत चुनावमा उपाध्यक्षको चुनावमा पराजित भएका थिए । 

एनआरएन संखमुल पार्क योजनाका अर्का ऋणी हुन् नवीन शेरचन । एनआरएन उत्तर अमेरिका क्षेत्रका वर्तमान उप संयोजक शरेचनको नाममा एक लाख बाँकि देखिन्छ । 

एनआरएन अमेरिका र यसका नेताहरूले ठूला ठूला कुरा गर्ने तर कुरा गरेअनुसार काम नगर्ने मामलामा बेइज्जती कमाएका छन् । अन्य मुलुकका एनआरएनहरू कसैले अलि अप्यारिलो कुरा गर्यो भने  अमेरिकी एनआरएनलाई खिसिट्युरी गर्दै भन्छन् नै - यो पनि अब अमेरिकी एनआरएन भएछ । 

संखमुल पार्क योजनाका लागि अमेरिकाबाट बोलकबोल गरेको रकम दिनेहरू पनि छन् । यसरी दिनेहरूमा वर्तमान क्षेत्रीय संयोजक गौरीराज जाेशीले दुई लाख, निवर्तमान अध्यक्ष डा. केशव पौडेलले एक लाख, सल्लाहकार हरिबोल भण्डारीले एक लाख र सदस्य कृष्ण लामिछानेले ५० हजार दिएका छन् ।

एनआरएन अमेरिका र यसका नेताहरूले विश्वसनियता गुमाएकाले नै एनआरएन ग्लोबलमा अमेरिकी एनआरएनहरू चुनाव जित्दैनन् । 

नेपालमा आएको बाढी पहिरोको कारण संखमुल पार्क तहसनहस भएको छ । काठमाडों र ललितपुरलाई छुट्याउँदै बगेको बागमती किनारको संखमुलमा एनआरएनले दुई करोड ५७ लाख ७८ हजार खर्च गरेर बनाएको पार्कका लागि दाताहरूले एक करोड ८४ लाख २६ हजार दिने कबोल गरेकोमा एक करोड ३२ लाख ७७ हजार मात्र दिएका छन् । 

ती नदिनेहरूको सूचीमा अमेरिकाबाट एनआरएन् अमेरिकासहित चारजना छन् । ती सबैको नाममा गरेर सात लाख ५० हजार बाँकि बक्यौता छ । 

अब यो पार्कको पुनर्निमाण गर्नुपर्ने हुन्छ । निर्माणमा त दिएनन्, पुनर्निमार्णमा त देलान् कि ? सबैको आशा त्यसैमा अडिएको छ । यदि त्यसो गरियो भने एनआरएन अमेरिका र यसका अध्यक्षसहित ठूला नेताहरू ऋणमुक्त हुने थिए । र , अमेरिकी एनआरएनले भन्न पाउँने थिए- अमेरिकी एनआरएन बोल्दैनन् मात्र बोलेको कुरा पूरा पनि गर्छन् । 

त्यो दिन आउला त अध्यक्षज्यू ? अमेरिकी एनआरएनको ध्यान अध्यक्षतिरै तेर्सिएको छ । 

 

 

 

प्रकाशित मिति: : 2019-07-15 03:29:36

प्रतिकृया दिनुहोस्