न्युयोर्कमा हिन्दू पुरोहितमाथि आक्रमण : राम्रो छैन संकेत !

आक्रमणको निशानामा हिन्दू पूजारी स्वामीजी हरिस चन्दर पुरी : राम्रो छैन संकेत । तस्बिर : एजेन्सी

अमेरिकामा हिन्दू मन्दिर बनाउने अभियान चलिरहेको बेला न्युयोर्कमा एक हिन्दू पूजारीमाथि धार्मिक घृणाको हिसाबले सांघातिक आक्रमण भएको एक अप्रिय समाचार बाहिर आएको छ । पूजारीको पोशाकमा रहेका पण्डितमाथि भएको आक्रमण र आक्रमणकारीले दिएको बयानले अमेरिकामा चलाइएको जबर्जस्त हिन्दू मन्दिर निर्माण अभियानका बारेमा अलि गम्भीर भएर सोच्नुपर्ने प्रकृतिको संकेत मिलेको छ । 

धार्मिक द्वन्द बढ्न सक्ने सम्भावना देखेर केही समय गुपचुप राखिएको समाचार केही ढिलागरी न्युयोर्कका सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । समाचारअनुसार गत जुलाई १८ तारिख बिहान ११ बजेर ५ मिनेटमा न्यूयोर्कको ग्लेन ओक्सस्थित शिव पीठ मन्दिरका पूजारीमाथि आक्रमण भएको हो । 

६२ बर्षिय पण्डित स्वामीजी हरिस चन्दर पुरी मन्दिर नजिकै पूजारीको पहिरनमा हिडिरहेको बेला उनीमाथि आक्रमण भएको थियो । पण्डितको मुख ,नाक ,कान ,छातीमा रगतपच्छे हुने गरेर हिर्काइएको थियो ।  

आक्रमणकारी ५२ बर्षिय सर्जियो गुभिया रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेर अपराधिक कार्य तथा उत्पीडनको आरोपमा दोश्रो श्रेणीको मुद्दा चलाएको छ ।

उसले वयानका क्रममा हिन्दू पहिरन प्रदर्शन गरेकोमा चित्त नबुझेर आक्रमण गरेको बताएको बुझिएको छ । तर, प्रहरीले यस्तो वयान संवेदनशील हुने भएकाले सार्वजनिक गर्न चाहेन । 

घटनामा घाइते भएका पण्डित उपचारपछि अस्पतालबाट फर्केका छन् । 

यसैबीच पण्डितले आफूमाथि भएको घटना सार्वजनिक पनि गरेका छन् । अहिले यस घटनालाई लिएर निन्दा गरिएको छ । तर, यो घटनाको संकेत राम्रो छैन ।

 

प्रकाशित मिति: : 2019-07-24 22:51:54

प्रतिकृया दिनुहोस्