अमेरिकी अर्थतन्त्र 'इन्भर्टेड यिल्ड कर्भ'मा : गम्भीर आर्थिक मन्दीको संकेत

अमेरिका चरम आर्थिक मन्दीबाट गुज्रने संकेत देखापरेका छन् । दशवर्षे अवधि भएको अमेरिकी बन्डले दिलाउने फाइदा दुई वर्षे अवधि भएको बन्डभन्दा कम भएर अमेरिकी अर्थतन्त्र इन्भर्टेड यील्ड कर्भमा पुग्नुले त्यसैको संकेत गरेको अर्थशाश्त्रीहरू बताउँछन् । 

बुधबारयता मात्र अमेरिकाका मुख्य तीनवटा स्टक बजार तीन प्रतिशतले झरेका छन् । 

स्टक बजार मात्र हैन,  सरकारी बन्डको प्रतिफल पनि यति तल गिरेको छ कि सानोतिनो टालटुले नीतिले यो उकासिने सम्भावना नै नभएको वित्त विश्लेषकहरू बताउँछन् । 

अमेरिका-चीनको व्यापार युद्ध, राष्ट्रपति ट्म्पको अमेरिकी केन्द्रीय ब्याङ्कविरुद्धको आक्रमण र केही दिनयता जर्मनी र चीनबाट आएका कमजोर आँकडाका कारण अमेरिकी अर्थतन्त्र मन्दीको दिशातिर अगाडि बढेको विश्लेषण गरिएको छ ।

वित्तीय सेवा कम्पनी ब्रुडरम्यानका विश्लेषक ओलिभर पुर्स्चले विश्वव्यापी अर्थतन्त्रको तस्बिर खराब भएको बताएका छन् । उनब़ विश्वका प्रत्येक केन्द्रीय ब्याङ्कले अर्थतन्त्र उकास्न खोजिरहे पनि राजनीतिज्ञहरू भने त्यसलाई ध्वस्त पार्न खोजिरहेको विश्लेषण गरे ।

दुई ठूला अर्थतन्त्रमध्ये जर्मनीको अर्थतन्त्र खुम्चिएको छ भने चीनको औद्योगिक उत्पादनको गति पनि घटेको छ । त्यसको प्रभावस्वरूप लगानीकर्ताहरू हतास भएर सुनतिर लगानी गर्न थालेका छन् । यसले अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ आकासिएको छ । 

अमेरिकामा सुरू भएको मन्दीको असर अब रियलस्टेट मार्केटमा पर्न सुरू गर्ने अनुमान वित्तीय विश्लेषकहरूको रहेको छ । त्यस्तो हुने वित्तिकै घरजग्गको भाउमा पनि ठुलो ह्रास आउँछ । त्यसले अमेरिकी अर्थतन्त्रलाई अरू धरासायी बनाउँदै २००७ को स्थितिमा नपुर्याउला भन्न सकिन्न । । 

 

 
प्रकाशित मिति: : 2019-08-16 04:48:50

प्रतिकृया दिनुहोस्