अमेरिकी सहायक रक्षामन्त्रीद्वारा सेनालाई स्काइ ट्रक प्रदान, थप २ जहाज दिने तयारी

तस्बिर:एजेन्सी

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभर नेपाली सेनालाई स्काइ ट्रक प्रदान गरेका छन्। नेपाली सेनासँग संयुक्त सैन्य तालिमसहित सैनिक सहकार्य र सहयोग जस्ता ६ बिषयमा काम गरिरहेको इन्डोप्यासिफिक कमाण्डले आईतबार दुई वटा स्काइ ट्रक प्रदान गरेको हो।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले भूकम्पछि गरेको अमेरिकाको औपचारिक भ्रमणमा यससम्बन्धी सहमति भएको थियो।

पहिलो खेपमा संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले पोल्याण्डमा निर्मित २ वटा पिजेडएल एम–२८ स्काई ट्रक नेपाललाई दिएको हो। अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तान्तरण गरिन लागेका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका हुन्। अमेरिकाले दोस्रो खेपमा थप २ जहाज प्रदान गर्नेछ।

अमेरिकी सेनाले २०७२ को महाभूकम्पलगत्तै ४ वटा स्काइ ट्रक पठाउने तयारी गरेको थियो। ती केही पुराना थिए। अहिले नेपाल आईपुगेका स्काइ ट्रक ब्रान्ड न्यू हुन्।

अमेरिकी सेनाले सरकारको सहमतिमा वार्षिक रुपमा आफु निकट देशका सेनालाई फरेन मिलिट्री फन्ड अन्र्तगत सैन्य सामाग्री सहयोग गर्दै आएको छ।

शान्ति सैनिकलाई ८९ लाख डलर सहयोग

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा अमरिकाले ०७२ देखियता ८९ लाख अमेरिकी डलर खर्च गरेको छ। लुम्बिनी हाउस नामको भवन १९ लाख डलर खर्चेर बनेको छ । यो भवन स्क्राइभरले शुक्रबार पाँचखाल पुगेर सेनालाई हस्तान्तरण गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो भ्रमणका क्रममा सेनालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। नेपालको विश्व शान्ति कार्यमा निरन्तर प्रयासलाई अमेरिकाले प्रशंसा र सहयोग गरेको अर्थमा यो सहकार्यलाई लिनुपर्ने उनको भनाइ थियो ।

‘नेपाल युएन पिसकिपिङ अपरेसनमा पाँचौँ ठूलो संख्यामा सैनिक योगदान गर्ने मुलुक हो,’ उनले भने। हाइटी, इराक, सिरियामा अमेरिकी सेनासँगै नेपाली शान्ति स्थापक सैन्यले काम गरिरहेको पनि उनले स्मरण गरे । यही कारण अमेरिकाको ग्लोबल पिस अपरेसन्स इनिसिएटिभसअन्तर्गत नेपाली सेनालाई सहयोग गरिरहेको उनको भनाइ थियो। 

प्रकाशित मिति: : 2019-12-10 09:58:05

प्रतिकृया दिनुहोस्