३८ वर्षपछि पोखरा रंगशालाको अनुहार फेरिदैँ (भिडियोसहित)

नवीन अर्याल

पोखरा, पुस ४

पोखरामा अवस्थित देशकै सबैभन्दा सुन्दर रंगशालाको अनुहार ३८ वर्षपछि फेरिदैँ छ। माछापुच्छ्रे हिमालको काखमा रहेको पोखराको सुन्दर रंगशालाको निर्माण २०३८ सालमा भएको हो।

२०४० सालमा पोखरामा आयोजना भएको दोस्रो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का लागि तत्कालिन सदस्य–सचिव सरदचन्द्र शाहले  पोखरा रंगशालाको निर्माण गर्न लगाएका थिए।

पहिले यो रंगशालामा भिआइपीसहित ७ हजार क्षमताको प्याराफिट निर्माण गरिएको थियो। बेलाबेलामा यसको स्तरोन्नती हुँदै आइरहेको थियो। तर, रंगशालाले पुरै काचुली भने फेर्न सकेको थिएन। गत वर्ष पुरानो प्याराफिट फोडेर पुननिर्माणको कार्य सुरु भएपछि निर्माण कार्यले गति लिएको हो।

अहिले यो रंगशालामा २० हजार सिट क्षमता पुर्याउने काम धमाधम भइरहेको छ। आउँदो फागुनमा पोखराले नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ।

त्यसैले यो अवधिसम्म निर्माण कार्य पुरा गर्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक सातापछि नै पुननिर्माणको कार्य सुरु भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी राष्ट्रिय खेलकुद परिषद् नेतृत्व र प्रदेश सरकार पोखरा रंगशाला निर्माणमा सकारात्मक भएका कारण निर्माण कार्य सुचारु भएको बताउँछन्।

१३ औं साग अगाडि नै रंगशालाको सेन्थेटिक ट्रयाक निर्माण भइसकेको छ। यो पोखराकै पहिलो सेन्थेटिक ट्रयाक पनि हो।

‘पोखरा रंगशालाको स्तरोन्नतीका लागि १ अर्ब २८ करोड रुपैयाँ बिनियोजन गरिएको छ,’ योगीले बिएल नेपाली सेवालाई जानकारी गराए।

पोखरा रंगशालामा पौडी पोखरीको निर्माण कार्य पनि चाँडै सुरु हुँदैछ। 

प्रकाशित मिति: : 2019-12-21 08:17:33

प्रतिकृया दिनुहोस्